
इपूर्वपोष्ट
ताप्लेजुङ, १८ पुस । पूर्वी पहाडी जिल्लाहरुलाई जोडेको मेची राजमार्गमा यातायात ठप्प छन् । पहिचानवादी नेताको रिहाईको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण पूर्वी पहाडी तथा हिमाली जिल्ला जोड्ने मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ ।
ताप्लेजुङ सहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा बुधवार बिहानै देखि यातायात चलेका छैनन् । कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले पक्राउ परेका पहिचानवादी नेता आन्जेस राईको रिहाइको माग राखेर मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको हो । समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा सञ्चालन हुने सबै किसिमका सवारी साधन ताप्लेजुङबाट नछुटेका यातायात व्यवसायीले बताईका छन् ।
मेची राजमार्गमा यातायात बन्द आह्वानले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधन ठप्प हुँदा यात्रु मारमा परेका छन् । बुधवारका लागि टिकट बुकिङ गरेका यात्रुले गन्तव्यमा जान नपाई सम्बन्धित जिल्लाहरूमा रोकिएका छन् ।
बिहीबारका लागि पनि यातायात सञ्चालन हुने नहुनेमा निश्चित नरहेको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा यातायात प्रा.लि.का काउन्टर इन्चार्ज शरण लाबुङ(लिम्बू्)ले जानकारी दिनुभयो । उहाँले मेची राजमार्ग बाहेकका स्थानीय तथा अन्य सडकमा भने सवारी साधन सञ्चालनमा रहेको बताउनुभयो । संयुक्त सङ्घर्ष समितिले मङ्गलबार नै विज्ञप्ति प्रकाशित गरी बुधवार र बिहीबार दुई दिन मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको बताईएको छ ।