
पाँचथर — दसैं नजिकिँदै जाँदा फिदिममा रातो माटो खन्ने, किन्ने र बेच्नेको भीड लागेको छ । दसैं–तिहारमा घर लिपपोत गर्नेहरु टाढा टाढाबाट माटो लिन यहाँ आउँछन् । दसैंको सौदा किन्न बजार आएकाहरु पनि घर फर्किँदा एक दुई बोरा माटो लिएरै जान्छन् ।
रुखो जमिन र रातो माटो भएकै कारण अरु खेती नहुने भएकाले बाँझो छोडिएको जमिन अहिले स्थानीयलाई बरदान साबित भएको छ । माग बढेसँगै फिदिमका चारखम्बे, रातमाटे र भदौरे लगायतका स्थानमा छोडिएका खाली जमिनबाट स्थानीयले माटो खनेर बिक्री गरी राम्रो आम्दानी लिइरहेका छन् ।
फिदिमकै गडी क्षेत्रमा घर बनाउन घडेरी सम्याउँदा निस्केको माटो पनि खेर जान पाउँदैन । यहाँको माटोले लिपेका घर उज्याला र चम्किला हुने भएकाले यहाँ आएकाहरु एक दुई बोरा बोकेर फर्किने त भए नै आउन नभ्याएले पनि ल्याइ मागेर काम चलाउँछन् ।
यहाँ खनिएको रातो माटो प्रतिबोरा एक सय रुपैयाँमा बिक्री हुन्छ । माटो खन्न खटेकाहरुले एक बोरा भरेबापत २० रुपैयाँ पारिश्रमिक पाउँछन् । दिनभरि माटो भर्दा १ हजार रुपैयाँसम्म रोज पाइने श्रमिकहरु बताउँछन् । व्यापारीले चाँहि यहाँबाट किनेर लगेको माटो ग्रामिण बजारमा दुरी अनुसार गाडी भाडा जोडेर एक सय पचास रुपैयाँदेखि दुई सय सम्ममा बिक्री गर्छन् ।
फिदिमको माटोको जिल्लाका ग्रामिण बजारसँगै छिमेकी ताप्लेजुङ, तेह्रथुम र इलामबाट पनि माग आउँछ । यहाँको माटो खरिद गर्न छिमेकी जिल्ला तेह्रथुम,ताप्लेजुङ र इलामबाट पनि माग आउने गरेको बिक्रेता मिरा गुरुङ बताउँछिन् ।
रातोमाटो बिक्ने जग्गाका धनीहरुले त खनेर बिक्री गर्ने नै भए आफ्नो जमिन नभएकाहरु भाडामा जग्गा लिको जग्गामा खनेर बेचिरहेका छन् । यहाँ १५ परिवारको गुजारा माटो बेचेरै चलिरहेको छ । खन्ने लोड, अनलोड गर्ने र चाल्ने काममा झन्डै ५० जनाले रोजगारी पाएका छन् । यहाँबाट दैनिक २ देखि ३ गाडीसम्म माटो निर्यात हन्छ भने प्रतिपरिवार वार्षिक चारदेखि पाँचलाख सम्म बचत गर्न सफल भएको व्यवसायीहरु सुनाउँछन् । Kantipur