
भोमादेवी पोख्रेल
ताप्लेजुङ, १२ असोज । प्रत्येक हप्ताको शुक्रबार बन्द हुने गरेको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार आज देखि खुल्ला भएको छ । दशैँ, तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै हप्ताको एकदिन शुक्रबार बन्द हुने गरेको फुङ्लिङ बजार आज शुक्रबार देखि खुल्ला भएको हो ।
ताप्लेजुङ उद्योग बाणिज्य संघले सूचना प्रकाशित गर्दै असोज १२ गते शुक्रबार(आज) देखि आगामी मङ्सिर १ गते शुक्रबारसम्म बजार खुला हुने जनाएको छ । दशैँ तिहार जस्ता नेपालीहरुको महान् चाडपर्वलाई दृष्टिगत गरी शुक्रबार पनि बजार पसल खुला गरिएको ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले चाडपर्वको अवधिभर हप्ताको सात दिन नै सदरमुकाम बजार खुला हुने छ । चाडपर्व सकिएपछि आगामी मङ्सिर ८ गते शुक्रबार देखि पुनः साविक झैँ सदरमुकाम फुङ्लिङ बजार बन्द हुने पनि उहाँले जानकारी दिनुभयो ।
चाडपर्वको समयमा आवश्यकीय सामान खरिद गर्न उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले बजार खुला गरिएको अध्यक्ष थापाले बताउनुभयो । अध्यक्ष थापाले चाडपर्वको समय नजिकिएसँगै फुङ्लिङ बजारमा चहलपहल पनि सुरु हुन थालेका जानकारी दिनुभयो ।
यता चाडपर्वका समयमा उपभोक्ताको चाप हुने हुँदा सेवाग्राहीले देख्नेगरी मूल्यसूची राख्न, अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान बिक्री वितरण नगर्न पनि व्यवसायीसमक्ष उद्योग बाणिज्य संघले आग्रह गरेको छ । यस्तै पटाका, भुइँचम्पा, आतीसबाजी जस्ता विस्फोटक पदार्थ समेतको बिक्री वितरण नगर्न संघको आग्रह छ ।
त्यस्तै उद्योग बाणिज्य संघसहित आफ्नो व्यवसाय दर्ता रहेको निकायहरुमा समयमै नवीकरण गर्न पनि सबै व्यवसायीलाई सचेत गराएको छ । असोज मसान्तभित्र आ–आफ्नो व्यवसाय नवीकरण गर्न तथा कर कार्यालयमा कर ९राजस्व० दाखिला गरी सक्नुपर्ने प्रावधान रहेकाले सो अनुसार गर्न–गराउन हुन सम्बन्धित व्यवसायीलाई बाणिज्य संघले सुझाएको छ ।