
इपूर्वपोष्ट
ताप्लेजुङ, १६ चैत । शुक्रबार देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी ताप्लेजुङ जिल्लामा पूरा भएको छ । जिल्लाका सोह्र वटा केन्द्रमा सञ्चालन हुने एसईईको सम्पूर्ण तयारी पूरा भएको हो ।
जिल्लाका १६ वटै केन्द्रमा एसईईका लागि प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । प्रमुख भट्टराईका अनुसार परीक्षा गराउने केन्द्राध्यक्षहरुलाई मङ्गलबार अभिमुखीकरण गराइएको थियो । अभिमुखीकरणपछि केन्द्राध्यक्षहरुलाई प्रश्नपत्र र उत्तरपुस्तिका लिएर आ–आफ्नो केन्द्र पुगेको भट्टराईले बताउनुभयो ।
फुङ्लिङ नगरपालिकामा भानुजन माध्यमिक विद्यालय, युवावर्ष माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालय र सिद्धकाली माध्यमिक विद्यालयमा परीक्षा केन्द्रहरु रहेका छन् ।
उता, पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकाको भञ्ज्याङ माध्यमिक विद्यालय, सिरिजङ्घा गाउँपालिकाको सिनाम माध्यमिक विद्यालय, तेल्लोक माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालय केन्द्र रहेका छन् ।
आठराई त्रिबेणी गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकाको मोति माध्यमिक विद्यालय, मेरिङ्देन गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा परीक्षा केन्द्रहरु रहेका छन् ।
यसैगरी मैवाखोला गाउँपालिकाको मैवाखोला माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालयमा केन्द्र रहेको समन्वय प्रमुख भट्टराईले बताउनुभयो । यता यसवर्षको एसईईमा जिल्लामा दुई हजार १ सय २१ जना परीक्षार्थीले सहभागिता रहने पनि भट्टराईले बताउनुभयो । नियमित तर्फ एकहजार ९सय ५२, ग्रेडवृद्धि तर्फका ६६ र प्राविधिक धारतर्फका १०३ जना परीक्षार्थी रहेकाछन् ।