
मधु राई
‘घरमा पढ्दै पढ्दैन म्याम, यसलाई गृहकार्य अलि बढी दिनुभए हुन्थ्यो ।’ निजी विद्यालयमा कखरा चिन्दै गरेका छोराछोरीका लागि यसरी गृहकार्यको माग गर्ने अभिभावक धेरै हुन्छन् । शिशु कक्षाका मात्र होइन एलकेजी र यूकेजीका विद्यार्थीका कतिपय अभिभावक पनि गृहकार्य थपिमाग्छन् । कतिपय अभिभावकले छोराछोरीले अक्षर चिने कि चिनेनन् भनेर घरमा बुझ्नेभन्दा पनि कक्षाकार्य गरे कि गरेनन्, शिक्षकले गृहकार्य दिए कि दिएनन् भनेर सोधपुछ गर्छन् ।
विशेष गरी शिशुकक्षाका साना विद्यार्थीहरूलाई सबैभन्दा पहिले अक्षर चिनाउनु तथा लेखनका आधारभूत सीप सिकाउनुपर्ने हुन्छ, जसका लागि लेखपढको सामान्य अभ्यासले मात्र पुग्दैन । विभिन्न शैक्षिक सामग्रीसहितको शिक्षणसिकाइ चाहिन्छ । तिनलाई लेखपढभन्दा पनि शैक्षिक सामग्रीले बढी आकर्षित गर्छ । जस्तो आटा र सुजीलाई पनि शैक्षिक सामग्रीका रूपमा उपयोग गर्न सकिन्छ । यसबाट बनाइने खेल सामग्रीले उनीहरूलाई उत्साहित मात्र बनाउँदैन आफैं पनि खेल्न अग्रसर बनाउँछ । बालविकास कक्षामा यसरी खेल्दै ६ महिना वा वर्ष दिनसम्म सिकेका सीपले उनीहरूलाई शिशुकक्षामा राम्ररी अक्षर चिन्न र लेख्न प्रोत्साहन मिल्छ ।
शिशुकक्षामा साँवा अक्षर लेख्न र पढ्न सिकेकाहरूलाई एलकेजीमा सरल शब्दहरू सिकाउँदै शब्दभण्डार बढाउने अभ्यास गराउनुपर्छ । यसो गरे विद्यार्थीहरूले यूकेजीमा सरल वाक्य सहजै गठन गर्न सिक्छन् । यस्तै पूर्वप्रावि तहका कतिपय विषय पढाउने र लेखाउनेभन्दा पनि अतिरिक्त क्रियाकलाप गर्दै सिकाउनुपर्ने हुन्छ । यसो गर्दा कतिपय अभिभावक ‘आज त म्याम कक्षाकार्य पनि छैन, गृहकार्य पनि दिनुभएनछ नि !’ भन्ने गरेको पाइन्छ । बेलाबेला विद्यार्थीलाई ‘पढेर आउनू है’ भन्दा पनि अभिभावकले लिखित रूपमै गृहकार्य खोज्ने गर्छन् । निजी विद्यालयका अधिकांश अभिभावक छोराछोरी सधैंभरि लेखपढ गरिरहुन भन्ने चाहन्छन् र उनीहरूकै इच्छा पूरा गर्न शिक्षक तथा विद्यालय व्यवस्थापन कम्मर कसेर लागेको देखिन्छ । एक त उमेर नपुगी विद्यालय भर्ना गर्न हतारिने अर्को विद्यालय जानेबित्तिकै लेखपढ गर्न थालोस् भनेर अतिरिक्त चाहना राख्ने अभिभावककै कारण पूर्वप्राथमिक तहको शिक्षणसिकाइ निष्क्रिय बन्न पुगेको देखिन्छ ।
पूर्वप्रावितहदेखि नै कक्षाकार्य र गृहकार्यको बोझ बोक्नुपर्ने विद्यार्थीहरूको बालमनोविज्ञानमा परिरहेको असर पर्नेबारे न शिक्षक संवेदनशील छन् न त अभिभावक नै । अझ कतिपय नानीबाबुलाई कक्षामा प्रथम आउनकै लागि ट्युसनसमेत पढाउने गरिन्छ । यसो गर्दा विद्यार्थीहरूको पढाइ राम्रो भए पनि घर र विद्यालयको चौघेराभन्दा बाहिरको समाजबाट भने अलगथलग हुन्छन् । आफ्नो समाजबारे अनभिज्ञ हुन्छन् । अझ कतिपय अभिभावक ‘मेरा छोराछोरी त कोठाबाट बाहिर निस्कँदैनन’ भनेर गौरवान्वित महसुस गर्छन् । यस्तो व्यवहारले औपचारिक शिक्षा फलदायी बन्न सकेको छैन ।
हुन पनि, ठूलाको तुलनामा पूर्वप्राथमिक तहका बालबालिकाको शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यभन्दा माथि उठ्न सकेको छैन । यसले समग्र स्कुले शिक्षाको प्रारम्भिक शिक्षणसिकाइ नै नीरस बन्न पुगेको छ । अभिभावकको अति चाहना र विद्यालय व्यवस्थापन लगायत शिक्षकहरूले पनि सोहीअनुरूपको शिक्षणसिकाइ गर्नाले यस्तो भएको छ । कक्षाकार्य र गृहकार्यको बोझले विद्यार्थीहरूको वर्तमान मात्र होइन, भविष्य नै अन्योलग्रस्त बनिरहेको छ ।
शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यभन्दा माथि उठ्न नसक्नुका एउटा प्रमुख कारण पाठ्यपुस्तक पनि हो । कतिपय नाम चलेका स्थापित विद्यालयले नै आफ्ना पाठ्यपुस्तक जीवन र जगत्सँग जोडिन्छ कि जोडिँदैन भन्नेबारे सोचेको पाइँदैन । पछिल्लोसमय प्रकाशकहरूबीच धेरै पृष्ठका पाठयपुस्तक प्रकाशन गर्ने होड नै चलेको छ । यस्तो प्रतिस्पर्धालाई स्थापित तथा नाम चलेका विद्यालयहरूले होस्टेमा हैंसे गरिरहेका छन् । उदाहरणका लागि, लावन्य इन्टरनेसनल प्रालिले प्रकाशित गरेका पाठ्यपुस्तक लिन सकिन्छ । पूर्वप्रावितहका लागि भनिएका पाँचवटा विषयका पुस्तकको तौल झन्डै २ केजी छ भने एउटै पुस्तकको तौल ४०० ग्राम र पृष्ठ पनि १४८ देखि १७२ सम्म छ । यस्तै ८.५ इन्च चौडा र ११.५ इन्च लम्बाइका ती पुस्तक विद्यार्थीले बोक्नै सक्दैनन् । अभिभावकले बोकिदिनुपर्छ । कक्षा उक्लिँदै जाँदा पुस्तकको भारी पनि बढ्दै जान्छ ।
ज्ञानको भन्दा पुस्तकको भारी बोक्न अभ्यस्त वतमान शिक्षाको शल्यक्रिया गर्न सरोकारवाला पूर्णतः चुकेका छन् । पृष्ठ संख्या बढाउनकै लागि बढी अभ्यासहरू थपिएका छन् । तर, ती अभ्यास कापीमा लेख्दा विद्यार्थीहरूको हस्तलेखन मात्र सपि्रँदैन पुस्तकको पृष्ठ संख्या पनि घट्छ । यसो हुँदा विद्यार्थीहरूको कक्षाकार्य र गृहकार्यको बोझ पनि स्वतः घट्छ ।
यद्यपि राजधानीस्थित कतिपय नाम चलेका शैक्षिक संस्थाले विद्यार्थीलाई कक्षाकार्य र गृहकार्यभन्दा पनि परियोजना कार्य लगायत अतिरिक्त क्रियाकलाप गराउनुपर्छ भनेर बेलाबेला कार्यशाला आयोजना गर्दै आएका छन् । जस्तो, काठमाडौं विश्वविद्यालय, रातोबंगला, ब्रिटिस स्कुल लगायतले आयोजना गर्ने यस्ता कार्यशालामा स्वदेशी तथा विदेशी प्रशिक्षकहरूले शिक्षणसिकाइमा बालमनोविज्ञान लगायत विद्यार्थीकेन्द्रित क्रियाकलाप गर्न सुझाउने गरेका छन् ।
पछिल्लो समय प्रारम्भिक बालविकासको अवधारणा अनुरूप साना विद्यार्थीलाई शिक्षणसिकाइ गर्नुपर्छ भनेर शिक्षा क्षेत्रमा अघोषित अभियान नै सुरु भएको छ । नगन्य विद्यालयहरूले सोहीअनुरूप शिक्षणसिकाइ गर्ने प्रयास गरिरहे पनि अधिकांश निजी विद्यालयको शिक्षणसिकाइ कक्षाकार्य र गृहकार्यमै सीमित छ । यसको बोझ हलुंगो पार्न पाठ्यपुस्तकको पाना घटाउन र आकार सानो बनाउन जरुरी छ । पूर्वप्राथमिक तहका विद्यार्थीहरूको उमेर र रुचिलाई ध्यानमा राखी केकस्ता पाठ्यसामग्री र अभ्यास समावेश गर्ने भन्नेबारे शिक्षाविद्लगायत सरोकारवालहरूसँग बृहत् छलफल गर्नु आवश्यक छ । विद्यार्थीको उमेर र रुचिलाई नजरअन्दाज गरी प्रकाशन गरिने पाठ्यपुस्तकले कस्तो ज्ञान दिइरहेको छ भन्नेबारे विद्यालय र प्रकाशकहरू संवेदनशील हुनुपर्छ । पाठ्यपुस्तक समयसापेक्ष विषयवस्तुले भरिए विद्यार्थीलाई पढाइप्रति रुचि मात्र जगाउँदैन, यसले जीवन र जगत्बारे बुझाउन पनि मद्दत गर्छ । अफसोस प्रचलित पाठ्यपुस्तकले विद्यार्थीलाई आकर्षित गरेको पाइँदैन, उल्टै कक्षाकार्य र गृहकार्यको बोझले थकित विद्यार्थीको शिक्षा आर्जन गर्ने जोस नै मारेको छ । अब यस्तो परम्परागत शिक्षण सिकाइ बदल्नु जरुरी छ । कान्तिपुरबाट