ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका १ कालीखोलामा जङ्गली वन्यजन्तुले बाली खानुका साथै नष्ट गर्न थालेपछि स्थानीयवासी रातभरि बाली रुँग्ने गरेका छन् । पाक्न लागेका मकै मङ्गली वन्यजन्तुले फेद नै काटेर नष्ट गरेपछि बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म स्थानीयवासीले रुँग्ने गरेका हुन् ।

मकैको खोस्टा सुक्न थालेको बेलामा बँदेलको हुल नै पसेर खान र नष्ट गर्न थालेपछि रातभरि जागा बस्नुपरेको स्थानीयवासी रत्न बानियाँले टेलिफोनमार्फत जानकारी दिनुभयो । बनियाँले भन्नुभयो, ‘सङ्कटकालमा माओवादी र नेपाली सेनाले रातभरि डिउटी कसरी गर्थे, अहिले त्यसरी नै जङ्गली वन्यजन्तु हेर्न डिउटी गर्नुपर्छ । मृग र दुम्सी आएर मकै खाने गरे पनि त्यति असर पुगेको थिएन । तर अहिले जङ्गली बँदेल एकै पटक १० देखि १५ वटासम्म आउँदा एकै रातमा बाली सिध्याउँछ ।’

अर्का किसान टइन्द्र चापागाईँले भन्नुभयो, ‘मुख्य बाली नै मकै हो यो नै सखाप भएपछि के खाने समस्या भएको छ ।’ कालीखोलाका चावखोला, बुर्केलगायतका गाउँमा अहिले जङ्गली बँदेल आएर मकैबाली सखाप गरेको चापागाईँले बताउनुभयो । उहाँहरूसहित कृष्ण बानियाँ, नरेन्द्र भण्डारीलगायतका परिवारले पनि रातभरि मकैबाली रुँग्ने गरेका छन् ।

यस विषयमा सिदिङ्वा गाउँपालिका १ कालीखोलाका वडाध्यक्ष गाेपाल बानियाँले वन्यजन्तु नियन्त्रण गर्ने केही उपाय नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय