
इपूर्वपोष्ट
ताप्लेजुङ, २५ साउन । वर्षको दुई पटक वृक्षरोपण गरिन्छ । एकपटक विश्व वातावरण दिवसको दिन र अर्को सामुदायिक वन दिवसको दिन ।
ताप्लेजुङका विभिन्न ठाउँमा एउटा दिवसमा झन्डै दुई सयदेखि साढे दुई सय वटा बिरुवा रोप्ने गरिएको छ । तर दश वर्षको अवधिमा कहाँ बिरुवा रोपिए, कहाँ हुर्किए भन्ने सम्बन्धित कार्यालयलाई नै थाहा छैन । एकै ठाउँमा तीन पटकसम्म बिरुवा रोपिए तर त्यो ठाउँ अहिले उजाड छ । दश वर्षको अवधिमा धुपी, गुराँस, तेजपत्ता, अमला, सल्लोलगायतका बिरुवा रोपिए पनि धेरैजसो बिरुवा हुर्किएका छैनन् ।
दिवसको दिनमा गएर बिरुवा रोपिन्छ अनि त्यो क्षेत्रमा फेरि कोही पनि नपुगेपछि कसरी हुर्किन्छन् त । जिल्लाको तोक्मेडाँडा अगाडि रहेको ब्यारेकको जग्गामा दश वर्षभित्रमा तीन पटकसम्म बिरुवा रोपिए तर अहिले खालि छ, उजाड छ ।
दुई वर्ष अगाडि भिन्तुनाडाडाँमा रोपिएका बिरुवा कता गए भन्ने थाहा छैन । दिवस मनाउने, बिरुवा रोपेर कार्यक्रम गर्ने अनि बेवास्ता गर्दा कसरी हुर्किन्छन् त बिरुवा ? भन्ने स्थानीयवासीकाे गुनासाे छ ।
तर सबै ठाउँमा यस्तो छैन । दश वर्षको अवधिमा वतावरण दिवसको दिन भानुजन माध्यमिक विद्यालयको जग्गामा रोपिएको बिरुवा भने हुर्किएका छन् । विद्यालयको रेखदेखका कारण बिरुवा हुर्किएका विद्यालयका प्रधानाध्यापक किशोर राईले बताउनुभयो । वन डिभिजन कार्यालयले बिरुवा रोपेर दिवस मनाउँछ तर हेरचाह गर्दैन ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख बद्रिप्रसाद शाहले कुन साल कति बिरुवा रोपिए, कुन ठाउँमा रोपिए भन्ने अभिलेख नभएको बताउनुभयो ।
यसैबीच मङ्गलवार अर्थात् साउन २४ गते सामुदायिक वन दिवसको दिन फेरि वृक्षरोपण गर्ने काम दोहोरिएको छ । तोक्मेडाँडा सामुदायिक वनको कफीहाउस क्षेत्रमा वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा तेजपत्ता र अमलाका झन्डै दुई सय वटा बिरुवा रोपिएका छन् । यी बिरुवा पनि हुर्किने हो कि होइन भन्ने शङ्का छ ।