
इपूर्वपोष्ट
ताप्लेजुङ, ११ बैशाख । ताप्लेजुङ जिल्ला मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाइ अख्तियारको टोलीले १ लाख ५० हजार रकम सहित पक्रउ गरेको छ ।
बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्ता सहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लेनदेन गरेको रकम सहित पनेरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
‘सेवाग्राहीबाट लिएको अतिरिक्त रकम १ लाख ५० हजार रुपैंया सहित मालपोत अधिकृत पनेरुलाइ नियन्त्रणमा लिएको भन्ने जानकारी आएको छ’ प्रवक्ता भण्डारीले भन्नुभयो । उहाँले थप बिषय पछि थाह हुने समेत बताउनुभयो ।
जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं ४ को कोप्चे लाइनमा एक घरबाट सेवाग्राहीबाट लिएको रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । गत साउन महिनाबाट चलेको यो प्रकृयाको कागजी प्रकृया भइसकेको र लेनदेनकै कारण सम्वन्धित धनीलाइ कागजात भने बुझाउन बाँकी रहेको अवस्थामा यो घटना भएको समेत अख्तियारले प्रारम्भिक जानकारी दिएको छ ।
अधिकृत पनेरुलाई कानून अनुसार कारबाही अगाडी बढाउने समेत अख्तियारले जानकारी दिएको छ ।