
ईपूर्वपोष्ट
ताप्लेजुङ, २६ पुस । नेपाली काँग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले अलोकतान्त्रिक अभ्यासलाइ सत्यसिद्ध गर्ने गलत अभ्यासमा एमाले उभिएको आरोप लगाउनुभयो ।
ताप्लेजुङमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आङ्देम्बेले एमालेलाइ संसद अवरोध हटाएर जनताका साझा मुद्दामा छलफल केन्द्रित गर्न आग्रह समेत गर्नु भएको छ ।
उहाँले ६ महिनाको बीचमा दुई–दुई पटक संसद बिगठन गरेर संसदमा देखिएको गतिरोधले जनताका आधारभूत आवश्यकताको छलफल गर्ने थलो बन्धक बनेको उहाँको भनाइ थियो । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा स्वयं बिपक्षी दल एमाले अध्यक्षको निवास मै गएर संसदको गतिरोध हटाउन आग्रह गर्नुले सरकार संसद खुलाउने अधिकतम् प्रयासमा जुटेको देखिइरहेको उहाँले बताउनुभयो ।
जनताका सार्वभौम प्रतिनिधि छलफल गर्ने थलो संसदलाइ सधैंभरी बन्धक बनाउन नहुने भएकोले एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बिश्वास पनि उहाँले लिनुभयो । राजतन्त्रको पक्षमा वकालत गर्दै आएको समूह प्रति लक्षित गर्दै आङ्देम्बेले बंशवादलाइ उदिन्ने प्रयास भइरहे पनि नेपालका राजनीतिक दल र नेपाली जनताले त्यो षडयन्त्र बिफल बनाइदिने बताउनुभयो ।
काँग्रेसको राष्ट्रिय महाधिबेशनले नयाँ र पुराना पुस्ता बीचको मिश्रणको आधार दिएको उहाँले बताउनुभयो । एमाले र माओवादीको राष्ट्रिय महाधिबेशन यर्थाथतामा लोकतान्त्रिक हुन नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो ‘ति त नेताका खल्तिबाट नाम पढेर सुनाइएको एउटा लघु पुराण जस्तै हो’ । केन्द्रीय महाधिबेशनले काँग्रेसमा शुद्धिकरण अभियान थालनी भएको बताउनु भएका उहाँले अब त्यो अभियान वडा तह सम्म पु¥याउनु पर्नेमा जोड दिनुभयो ।
नेता डाक्टर शेखर कोइराला पक्षले पार्टी सभापति देउवाले केन्द्रीय समितिमा गरेको मनोनयन मनोमानी भएको भनीरहेका बेला आङ्देम्बेले भने देउवाको निर्णयको बचाउ गर्नु भएको छ ।