
काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालय, सानेपामा जारी धर्ना र अनसनबारे नेतृत्वको ध्यानाकर्षण गराएको छ । क्रियाशील सदस्यताको विषयलाई लिएर कांग्रेस कार्यालय सानेपामा बारा र रौतहटका नेता कार्यकर्ता लामो समयदेखि अनसनमा छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आफूहरुले अनसन अन्त्य गर्ने वातावरण बनाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको वरिष्ठ नेता पौडेलले बताए ।
‘८० दिनदेखि सानेपामा पार्टीका नेता कार्यकर्ताहरु रिले अनसन र धर्नामा छन् । सर्लाहीका नेताहरुले आमरण अनसन शुरु गरेका छन्,’ वरिष्ठ नेता पौडेलले अनलाइनखबरसँग भने, ‘पार्टीमा देखिएको क्रियाशील सदस्यताबारे सभापतिको ध्यानाकर्षण गराउन हामी बालुवाटार गएका हौं ।’
सानेपामा बारा र रौतहटका नेता कार्यकर्ता अनसनमा बस्दै आएका छन् । नेता पौडेलले क्रियाशील सदस्यताबारे आफूहरुले उठाएका मुद्दाबारे नेतृत्व भने संवेदनशील नदेखिएको बताए । ‘पार्टी कार्यालयमा जारी धर्ना र अनसन तोडाउनेतर्फ जाने कि सहमतिका नाममा पेलेर अगाडि बढ्ने भनेर हामीले प्रश्न गर्यौं,’ पौडेलले भने, ‘क्रियाशील सदस्यताको विषय लाजमर्दो भइसक्यो ।’
कांग्रेसले बारा, रौतहट र रसुवाको क्रियाशील सदस्यता अझै टुंग्याउन सकेको छैन ।
बालुवाटारमा भएको छलफलमा देउवासँगै नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेता सहभागी थिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापतिलाई भेट्न जानुअघि पौडेल समूहका नेताहरुबीच छलफल भएको थियो । उनीहरुले क्रियाशील सदस्यताका विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेका थिए ।