
ताप्लेजुङ, २२ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा ताप्लेजुङका नेकपा एमालेबाट निर्वाचित २१ जना जनप्रतिनिधिले प्रवेश गरेका छन् ।
नेकपा एमालेको विभाजन पछि बनेको नेकपा एकिकृत समाजवादी पार्टीको पक्षमा जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपाली सहित २१ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गरेकाछन् ।
दल रोज्न दिईएको समय सकिने दिन मंगलबार ७ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरे । हस्ताक्षर गर्नेमा आठराई त्रिवेणी गाउँपालिका उपप्रमुख मञ्जु पौडेल ९भट्टराई०, फुङलिङ नगरपालिका २ का वडाध्यक्ष मोहन न्यौपाने, फुङलिङ कार्यपालिका सदस्य नीता सिवाँ लगायत छन् ।
यस्तै यसअघि मेरिङ्देन गाउँपालिका उपप्रमुख कल्पना तुम्बाहाम्फेले समेत नेपाल नेतृत्वको पार्टी रोज्दै सनाखत गर्नुभएको छ । यता १ जना जनप्रतिनिधिले भने हस्ताक्षर फिर्ता लिनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । फिर्ता लिनेमा जिल्ला समन्वय समितका सदस्य रहेकाछन् ।
नेकपा एकिकृत समाजवादी पार्टीको पक्षमा सनाखत गर्ने प्राय मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधि रहेको बताईएको छ । दल विभाजन सम्बन्धि अध्यादेशमा भदौ २२ गते सम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाईएको छ ।