काठमाडौं १० भदौ । लगातार दोस्रो दिन नेपाली सेयर बजारमा उच्च गिरावट आएको छ । मंगलबार ५६.०३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार पनि ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोक्दै त्यसलाई कार्यान्वयन गर्न एक वर्षको समयसीमा दिएसँगै बजारमा प्रभाव देखिएको हो । यसैगरी जलविद्युत् कम्पनीको हकप्रद सेयरमा कडाइ गर्ने सरकारको निर्णयका कारणसमेत बजार प्रभावित हुँदै आएको छ ।
मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितोमा एक ग्राहकले एउटा संस्थाबाट अधिकतम ४ करोड र वित्तीय प्रणालीबाटै अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ भने निर्देशन जारी हुनुअघि अघि भएको लगानी सीमाभित्र ल्याउन एक वर्षसम्मको समयससिमा दिएको छ ।
वित्तीय प्रणालीमा तरलता उच्च भई व्याजदर समेत एकल अंकमा कायम भएसँग सेयर धितो कर्जामा उच्च लगानी भइरहेको छ । बैंकिङ प्रणालीबाट सीमित व्यक्तिले अधिक कर्जा लिएर सेयर बजारमा चलखेल गरेको भन्दै राष्ट्र बैंकले यसमा कडाइ गरेको हो ।
मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गर्ने संकेत गरेसँगै लगानीकर्ताहरुले यसलाई फिर्ता गर्न अर्थमन्त्री र गभर्नरलाई दवाव दिएका थिए ।
केन्द्रीय बैंकले हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको आधारमा निश्चित सिमासम्म मात्र सेयर धितो कर्जा दिने पाउने गरी सिमा तोक्दै आएको थियो । यस पटकबाट भने मौद्रिक नीतिमै उल्लेख गरेर सेयर धितो कर्जामा प्रतिव्यक्ति ऋणीलाई नै सीमा तोकेको हो ।
नेप्से सूचकमा आएको गिरावटसँगै कारोबार रकम समेत घटेको छ । बुधबार यसदिन २२७ कम्पनीका एक करोड ९७ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्व रुपैयाँमा सीमित भएको छ । गत बिहीबार २० अर्ब नाघेको कारोबार मंगलबार १६ अर्ब रुपैयाँमा झरेको थियो ।
बुधबार सबै समूहगत परिसूचकहरु पनि ओरालो लागेका छन् । यसदिन १६२ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा २१ कम्पनीको बढेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय