काठमाण्डौं, ८ भदौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रूपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले कोभिड खोपको अभावमा विद्यार्थीहरू परीक्षामा सामेल हुन नसक्ने अवस्था आउन नदिनसमेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो। छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्नुपर्‍यो । विद्यार्थीहरू खोप नलगाउने, छुट्ने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिनुहुन्न। यस्ता विषयलाई पनि ख्याल गरेर छिटोभन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु,’ घर्तीले भनिन्।

समितिले ट्युसन फी मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरूले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर यथाशीघ्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका थिए। नयाँपत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय