
हामी विमानस्थलतर्फ जाँदैछौं : नेपाली सुरक्षा गार्ड
काठमाडौँ — आफगानिस्तानभर आफ्नो पकड जमाएको तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदार/कर्मचारीहरुलाई छाड्न आदेश दिएको छ । होटलमा झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड छन् ।

क्याम्प छोड्नुअघि नेपाली सुरक्षा गार्ड र उनीहरुका सरसामान ।
तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिइएको हो ।
तालिवानले विमानस्थल जान समस्या नभएको जानकारी दिएको उनले बताए । होटलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा छ । उनीहरु आइतबार बिहान काबुलस्थित दूतावासको परिसरबाट होटल आएर बसेका थिए । ‘हिजो हामीलाई क्याम्पबाट निस्कन पनि दुई घण्टाको समय दिएका थिए । अमेरिकी सेनाले दूतावास रहेका क्षेत्रबाट हेलिकप्टरबाट नै साथीहरुलाई विमानस्थल लगेर राखेको थियो । तोकिएको समयमा हेलिकप्टरबाट मात्रै जान सम्भव नभएपछि हामी गाडीबाट होटलमा आएर बसेका थियौं,’ उनले भने, ‘हामीमाथि कुनै नराम्रो दुर्व्यवहार गरिएको छैन ।’
अमेरिकी सेनाले विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ । सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् ।