
काठमाडौँ, ३० श्रावण । पास्तो (पास्तुन जातिको) भाषामा तालिवान भनेको विद्यार्थी हो । धर्मरक्षक यो ‘विद्यार्थी’ उग्रपरम्परावादी समूह हो । धर्मलाई जगेर्ना गर्ने नाममा तालिवान पुरातन सोच र संस्कृतिअनुसार प्रशिक्षित छ ।
अमेरिकी सेना अफगानस्तान आउनुअघि सत्ता सञ्चालन गर्दा तालिवानले १० वर्षभन्दा बढी उमेरका किशोरीलाई औपचारिक शिक्षा लिन बन्देज लगाएको थियो । घरभित्र या बाहिर, महिलालाई बुर्का अनिवार्य थियो । यस्ता, नियम उल्लंघन गरेको खण्डमा त्यसबेला हदैसम्मको सजाय दिने गरिन्थ्यो ।
मुस्लिम कट्टरपन्थी तालिवान समूहको विशेषता धर्मलाई केन्द्रमा राख्दै पुरातन सोच र संस्कृतिअनुसार शासन चलाउनु हो । विश्व प्रविधिको युगमा प्रवेश गरिसकेको सन्दर्भमा अफगानिस्तान भने उही पुरानै युगमा फर्किन लागेको भन्दै अफगानी जनता चिन्तित छन् । त्यसमा पनि बाँचिने हो कि होइन भन्ने अन्योलमा हजारौं नागरिक सुरक्षित बासस्थलको खोजीमा भौंतारिरहेका छन् ।
अमेरिकी नेतृत्वको नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) सेनाले अफगानिस्तान छाडेपछि विद्रोही तालिवानले सत्ताकब्जा गर्न सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण तीव्र बनाएको छ ।
अफगानस्तानका ३४ मध्ये १८ प्रान्तका राजधानी पछिल्लो एक सातामा तालिवान समूहले कब्जा गरिसकेको छ । यो समूह राजधानी काबुल कब्जाका गर्नका लागि अघि बढिरहेको छ ।
२० वर्षमा तालिवानसँगै काबुल फर्कंदै त्रास
सन् २००१ मा अमेरिकी फौज अफगानिस्तानमा छिर्नुअघि सत्ता सञ्चालन गरेको तालिवान समूह अहिले पुनःसिंगा मुलुकलाई कब्जा गर्ने रणनीति अनुरुप अघि बढिरहेको छ । पश्चिमा मुलुक समर्थित सरकारको विरुद्धमा तालिवान सन् २००१देखि नै अफगानस्तानमा विद्रोह गर्दै आइरहेको छ ।
तालिवानका संस्थापकक मुल्लाह मोहम्मद ओमर हुन् । सन् २००१मा अमेरिकी सेना अफगानस्तानमा ओर्लिएसँगै तालिवानले सत्ता गुमाएको थियो । त्यहि बेलादेखि ओमर लुकेका थिए ।
ओमरको अवस्थाबारे मृत्यु भएको दुई वर्षपछि मात्रै उनका दुई छोराहरुले सार्वजनिक गरे । ओमरको मृत्यु सन् २०१३मा भयो ।
अहिले तालिवानले अफगानस्तान कब्जा गरिरँदा यसका नेतृत्वकर्ताहरु को छन् त ? यसबारे चासो भइरहेका छन् ।
हेईबुतल्लाह अखुन्जादा:
हेईबुतल्लाह तालिवान समूहका सर्वोच्च नेता हुन् । उनलाई तालिवानको राजनीतिक,धार्मिक तथा सैन्य मामिलासँग सम्बन्धित सबै विषयहरुमा निर्णय लिने अधिकार छ । उनलाई समूहभित्र ‘विश्वासयोग्य नेता’को रपमा चित्रण गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अखुन्जादाले यो समूहको नेतृत्व सन् २०१६ देखि लिएका हुन् । यसअघिका प्रमुख अख्तर मन्सुर अफगान-पाकिस्तान बोर्डरमा सन् २०१६मा अमेरिकी ड्रोन हमलामा मारिएपछि अकुन्जादाले तालिवान समूहको नेतृत्व सम्हालेका हुन् ।
अखुन्जादाले यसअघि दक्षिणपश्चिम पाकिस्तानस्थित कुचलक सहरको एक मस्जिदमा पढाउने काम गर्ने गरेको अलजिजारले जनाएको छ । उनले त्यहाँ १५ वर्षसम्म पढाए । सन् २०१६को मेदेखि उनी त्यहाँबाट अचानक सम्पर्कविहीन बनेका थिए ।
अखुन्जादाको उमेर ६० को हाराहारी रहको बताइएको छ । उनको पछिल्लो अवस्थाबारे अज्ञात छ ।
मुल्लाह मोहम्मद याकुब:
तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा हुन् याकुव । उनी तालिवान समूहका सम्पूर्ण सैन्य गतिविधि तथा आक्रमणको निरीक्षण तथा व्यवस्थापकीय कार्य हेर्छन् । उनी हाल अफगानस्तानमै रहेको बताइएको छ ।
अफगानिस्तानमा जो पस्यो, त्यो फस्यो
नेतृत्व हस्तान्तरणको विषयमा टसल हुँदा उनलाई धेरै पटक सर्वोच्च नेताको रुपमा प्रस्ताव गरिएको थियो । तर उनले अखुन्जादालाई अघि सारेका थिए । उनले त्यसबेला आफू युवा अवस्था रहेको,सैन्य र युद्ध सम्बन्धीको अनुभव नभएको बताउँदै अखुन्जादालाई प्रस्ताव गरेका एक तालिवानी कमान्डरको भनाई उद्धृत गर्दै अलजिजारले लेखेको छ । याकुबको उमेर ३०को हाराहारीमा रहेको बताइएको छ ।
सिराजुद्दीन हक्कानी :
सिराजुद्दीन हक्कानी मुज्जाहद्दीन कमान्डर जालालुद्दिन हक्कानीका छोरा हुन् । सिराजुद्दीनले तालिवानको हक्कानी नेटवर्कको नेतृत्व छन् । यो समूह अफगान-पाकिस्तान सीमामा तालिवानको वित्तिय तथा सैन्य सम्पत्तिको निगरानी र व्यवस्थापन गर्छ । इकान्तिपुरबाट