
पूर्वपाेष्ट
ताप्लेजुङ २७ फागुन । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
मंगलबार गाउँपालिकाको आठौं स्थापना दिवसको अवसरमा अधिकारीलाई ३३ हजार ३३४ रुपैयाँ नगदसहित पालिकाले पुरस्कृत गरेको हो।
गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले खोजमूलक, विश्लेषणात्मक र तथ्यपरक पत्रकारिता मार्फत स्थानीय शासनलाई प्रभावकारी बनाउन पत्रकार अधिकारीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान प्रदान गरिएको बताए ।
अधिकारीले स्थानीय तहको नीति, सेवा प्रवाह, नागरिकका माग तथा सरोकारका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएका छन्। २०५६ सालमा विराटनगरबाट पत्रकारिता सुरु गरेका अधिकारी २०५८ सालदेखि ताप्लेजुङमा पत्रकारीता क्षेत्रमा निरन्तर लागि रहनु भएको छ । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष अधिकारी नागरिक दैनिकमा सम्बाददाताका रुपमा ताप्लेजुङबाट कृयाशिल छन् भने स्थानीय दैनिक पत्रिका उज्यालो पोष्टमा सम्पादकको भूमीकामा रहदै आउनु भएको छ ।
स्थापना दिवसकै अवसर पारेर गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने एक सर्वोत्कृष्ट कर्मचारी, तीन उत्कृष्ट कर्मचारी र चार उत्कृष्ट कृषकलाई समेत नगदसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूलाई प्रमाणपत्रसहित नगद प्रदान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुब्बाले जनमैत्री सेवा प्रवाहले सरकारप्रति जनविश्वास अभिवृद्धि गर्ने बताए। उनले कृषकलाई व्यवसायमुखी बनाउन, जैविक खेतीलाई प्रवर्द्धन गर्न र कृषिपेशालाई आत्मनिर्भर बनाउन यस्ता सम्मानले टेवा पुर्याउने विश्वास व्यक्त गरे। पालिकाका उपाध्यक्ष गुरुङले पुरस्कृत व्यक्तिहरूले आगामी दिनमा अझ जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्। २०७३ साल फागुन २७ गते स्थापना भएको गाउँपालिकाले हरेक वर्ष फागुन २७ लाई स्थानीय तह स्थापना दिवसका रुपमा मनाउदै आएको छ ।