
केशवप्रसाद भटराइ
ताप्लेजुङ ७ फागुन । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाएका छन् । भ्रष्टाचार अनुसन्धानको डरले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै सरकारले अध्यादेशमार्फत देश चलाउन खोज्दा तानाशाही प्रवृत्ति भएको श्रेष्ठले आरोप लगाए ।
श्रेष्ठले अर्को प्रसंगमा राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा पार्टीमा गम्भीर छलफल भइरहेको, तर निर्णय भने हुन बाँकी रहेको बताएका छन् । पार्टी विस्तार तथा स्थानीय तह प्रशिक्षणको सिलसिलामा ताप्लेजुङमा आइपुगेका श्रेष्ठले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीले अहिलेसम्म पूर्ण जिम्मेवारी नदिएको र आमन्त्रित सदस्यका रूपमा मात्र रहेको जानकारी दिए ।
देशमा दुईदलीय तानाशाही व्यवस्था लागू गर्न प्रयास भइरहेको र यसलाई रोक्ने प्रतिबद्धता रहेको श्रेष्ठले बताए । सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको र निरंकुशता बढाएको आरोपसमेत लगाए । नेकपा (माओवादी केन्द्र) सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठनलाई बलियो बनाएर आर्थिक–सामाजिक रूपान्तरणको नेतृत्व गर्ने दिशामा लागेको जानकारी दिए ।
उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई कटिबद्ध गराउनेसमेत बताएका छन् । पार्टीभित्रको गुट प्रवृत्तिलाई चिर्नसमेत पार्टी लागिपरेको श्रेष्ठले बताए ।
विवादमा रहेको ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै यो समस्याको समाधान जिल्लास्तरमै गरी सहज रूपमा काम गर्नुपर्ने श्रेष्ठले उल्लेख गरे ।