
पूर्वपोष्ट
ताप्लेजुङ, ७ फागुन । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोक निवासी कवि निमेष अविरल (रुकमान थेबे) को कविता संग्रह ‘नदीको यात्रा’ विमोचन गरिएको छ । ताप्लेजुङको फुङ्लिङ बजारमा आयोजित कार्यक्रममा अविरलको कविता संग्रह विमोचन गरिएको हो ।
कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार तथा संगीतकार भरत गुरुङ पत्रकार महासंघ अध्यक्ष सुवास आचार्य लगायतले कविता सग्रह सार्वजनिक गर्नुभएको हो । कुल १७० पृष्ठको कविता सग्रहभित्र दुई खण्डमा गरी ८५ वटा कविता समावेश छन् । पहिलो खण्डमा ५४ वटा गद्य कविता र दोस्रोमा ३२ वटा गीति कविता रहेको छ ।
लेखकको पहिलो कृतिका रुपमा प्रकाशित संग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थितिजस्ता भावलाई चित्रित गर्ने खालका कविताहरु समावेश गरिएका छन् । कविता संग्रहको समीक्षा कविद्वय दुःखी महल तिम्सिना र लेकाली कान्छा मुक्कुमले गर्नुभएको छ । सग्रहको समीक्षा गर्दै समीक्षकले सन्देशमुलक साथै उत्कृष्ट कविताहरु पुस्तकमा रहेको उल्लेख गरेका छन् ।
शिक्षण पेशामा आवद्ध कवि अविरलले उपलब्ध समयलाई साहित्य साधना अर्थात सिर्जना लेखनमा उपयोग गरेका कारण कविता सग्रह तयार पारी प्रकाशन गर्न सफल भएको बताए । प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई(अकिञ्चन) को अध्यक्षतामा भएको कार्यक्रममा साहित्य क्षेत्रमा आवद्ध साहित्यकार, सञ्चारकर्मी लगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।