पूर्वपोष्ट
ताप्लेजुङ, २७ माघ । ताप्लेजुङ जिल्लाको मैवाखोलामा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका रूपमा सुरु गरिएकोछ ।
ताप्लेजुङ जस्तो दुर्गम गाउँबाट कला, संस्कृति र खेलकुदालाई एउटै ठाउँमा जोडी स्थानीय सस्कृतिको प्रर्वद्धन गर्ने समेत उद्देश्य राखिएको छ । खेलकुद महोत्सवका रूपमा प्रतियोगितालाई सम्पन्न गर्नका लागि लिम्बू संस्कृतिमा आधारित ‘सिलाम साक्मा’ को प्रतिमा (मस्कट) निर्माण गरी प्रवर्धन र व्यापक प्रचारसहित प्रतियोगिताको उद्घाघाटन गरिएको छ । खेलकुदका माध्यम मार्फत पर्यटन प्रवर्धन गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्य सहित सिलाम साक्माको प्रतिमा निर्माण गरी प्रतियोगिताको उद्घाटन गरिएको मैवाखोला गाउँपलिका अध्यक्ष विजयप्रकाश वनेमल बताए ।
गाउँपालिका अध्यक्ष वनेमले प्रतियोगितालाई खेलकुद महोत्सवकै रूपमा सम्पन्न गर्नेगरी हालसम्मकै ठुलो आकारमा सिलाम साक्मा निर्माण गरी प्रचार र प्रवर्धन गर्नुका साथै नेपालको सातवटै प्रदेशको सांस्कृतिक पहिचान झल्कने खालका नृत्यसमेत प्रस्तुत गरिएको थियो । लिम्बू समुदायको केःलाङसहित शेर्पा, गुरुङ, मगरलगायत जाति तथा समुदायको मौलिक संस्कृति झल्कनेगरी सांस्कृतिक नृत्य प्रस्तुत गरी सवै प्रदेशलाई समेटीएको पनि अध्यक्ष वनेमले बताए । मैवाखोला गाउँपालकाका ३९ विद्यालयबाट सहभागि विद्यार्थीहरुले सन्देशात्मक आकृतिमा मार्चपास समेत प्रस्तुत गरेका थिए ।
सदरमुकाममा केन्द्रित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रसम्म विकेन्द्रित गरेसँगै प्रतियोगिता, प्रतियागितामा सीमित नभई महोत्सवका रूपमा परिवर्तन हुन थालेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बूले बताए । महोत्सवका रुपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन थालेपछि खेलप्रति आकर्षण बढ्दै गएको र जिल्लाको खेलकुद प्रवर्धनमा टेवा पुगेको अनुभूती हुन थालेको अध्यक्ष लिम्बूले जानकारीदिए । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवको उत्घाटन कोशि प्रदेश सदस्य तथा पुर्व अर्थमन्त्री, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङबो मौसमले पानसमा बत्ती बालेर गर्नु भएको थियो । माघ २७ देखी ३० गते सम्म सञ्चालन जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुस्थित नारायणी माध्यमिक विद्यालयको खेल मैदानमा भव्यरूपमा सुरु भएको हो । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजना र मैवाखोला गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा सुरु गरिएको छ ।
जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो र उसुजस्ता विधा समावेस छन् । उक्त छ विधाअन्तर्गत ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २०२ पदकका लागि छात्र छात्राबिच प्रतिस्पर्धा रहने पनि अध्यक्ष लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!