
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २१ माघ । सात दिन देखि बन्दको चपेटामा परेको हिमाली जिल्ला ताप्लेजुङमा सरस्वतिपूजा भब्यरुपमा मनाईएको छ । जिल्लाका नौ स्थानीय तहको सवै विद्यालयमा पूजा गरिएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको जिल्ला भर निष्ठापूर्वक पूजा–आराधना गरी मनाईएको हो ।
आज वसन्त पञ्चमी पनि भनिने सरस्वती पूजाका दिनबाट बिभिन्न विद्यालयमा लगेर बालबालिकालाई पढ्न सुरुगरिएको छ । घर देखि विद्यालय सम्म बालबालिका आजकै दिन लगेर क,ख,रा शुभारम्भ गरिएको छ । वसन्त ऋतु आफैँमा सुरम्य मौसम भएकाले यसको शुभारम्भकै दिन शिक्षा प्राप्तिको सुरुवात गरिने वैदिक परम्परालाई नेपालमा अंगिकार गरिदै आएकोे छ ।
जिल्लाका सरकारी तथा निजी विद्यालयहरुले विभिन्न कार्यक्रममा साथ सरस्वतिपूजा मनाएका छन् । जिल्लाका ३ सय ५० विद्यालयहरुमा सवै भन्दा धेरै विद्यार्थी रहेको भानुजन माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रमका साथ पूजा आरधना गरिएको प्रधानाध्यपक किशोर राईले बताए ।
त्यस्तै लिटलबुद्ध आवासीय मा.वि.मा पनि विभिन्न कार्यक्रमका साथ सरस्वातिको पूजा गरिएको छ । विद्यालयका प्रधानाध्यापक यूवराज गिरीले आजकै दिन २४ जना नानिहरुको पढाई शुभारम्भ गर्दै विद्यालयमा भर्ना गरिएको बताए । ती विद्यार्थीलाई यस विद्यालयमा पढुन्जेल भर्नाको लागि कुनै शुल्क नलाग्ने पनि जानकारी दिए ।
विद्याका लागि सरस्वतीको महिमा अपरम्पार रहेको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकारिन्छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने प्रचालन रहेको छ । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि मानिने प्रचलन रहेको छ ।
आज सरस्वती पूजाका दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभारम्भ गरिन्छ । सरस्वती पूजाकादिन आर्थत आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) लगायतका धार्मिक कार्य गर्न साइत नहेरी गर्ने चलन छ ।