
इपूर्वपोष्ट
ताप्लेजुङ, १९ माघ । ताप्लेजुङमा रहेको पाथीभरा क्षेत्रमा केवलकार निर्माणका सम्वन्धमा देखिएको समस्याको आवश्यक समन्वय गर्न गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
शुक्रबार पत्र लेख्दै यो केबलकार नियमनको विषय संघीय मामिला अन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन गृह मन्त्रालयले पत्र पठाएको हो ।
गृह मन्त्रालयका शाखा अधिकृत ऋषीकेश खतिवडा द्वारा हस्ताक्षरित पत्रमा ‘केबलकार नियमनको विषय त्यस मन्त्रालय अन्तर्गत पर्ने भएको हुँदा सो सम्बन्धमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालाहरूसँग समन्वय र सहजीकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहलकदमी अगाडि बढाइदिनु हुन निर्देशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।
माघ १५ मा गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, इलाम र संखुवासभाका प्रतिनिधिसभाका सांसदलाई मन्त्रालयमै बोलाएर वार्ता समिति बनाउने र वार्ता गर्ने आश्वासन दिएका थिए । ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद तीनैजना योगेशकुमार भट्टराई, लिलादेवी बोखिम र उर्मिला थेबेले गृह मन्त्रालय संगको निरन्तरको सम्बाद र संघीय मामिला मन्त्रालयसँग सम्बाद भईरहेको बताएका छन् ।
यसअघि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा माघ १२ मा गोली चलेको थियो । गोली लागेर आन्दोलनकारी समूहका दुईसहित पाँच जना र प्रहरीतर्फ २१ जना घाइते भएका थिए । तीन जना पक्राउ परेका छन् ।
पक्राउ परेकाको रिहाइ, केबलकार निर्माण बन्द, निर्माणस्थलवाट सशस्त्र प्रहरी फिर्ता लगायतको माग गर्दै आन्दोलनरत समूहले माघ १५ देखि मेची राजमार्ग र तमोर करिडोरमा आवागमन बन्द गरेका छन् । जसले ताप्लेजुङलगायत पाँचथर, इला, धनकुटासम्मको जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा लामो तथा छोटो दूरीका यातायातका नचले पछि समस्या भएको छ ।