
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १४ माघ । नेपाल सरकारले ताप्लेजुङ जिल्ला भित्रका विद्यालय तथा स्थानीय स्तरमै पुगेर ७ हजार १ सय ७८ वालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने भएको छ । बिद्यालय भित्रका ५ हजार ९ सय ५४ र बिद्यालय बाहिरका १ हजार १ सय ६४ जना गरि सो संख्या हुने बताईएको छ ।
राष्ट्रिय अभियान अनुसार स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन अधिकृत दिनेश रायले ताप्लेजुङका ९ स्थानीय तहका माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयका काक्षा ६ देखि १० सम्म पढ्ने विद्यार्थीलाई खोप लागाउने बताए ।
खोप अभियान सञ्चालन माघ २२ गते देखि २६ गते सम्म पहिलो चरणमा फुङलिङ नगरपालिका, पाथीभरा याङ्वरक, सिदिङ्वा, सिरिजंघा गाउँपालिकामा सञ्चालन गरिने अधिकृत रायले जानकारी दिए । दोश्रो चरणमा माघ २८ गते देखि फागुन ३ गते सम्म आठराई त्रिबेणी, मैवाखोला, मेरिङदेन, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकामा खोप अभियान सञ्चालन गर्ने तयारी पुराभएको रायले बताए ।
रायले खोप अभियानका लागि १ सय ४० बिद्यालय सहित २ सय २३ वटा खोप केन्द्र हुने जानकारी दिए । खोप अभियानका क्रममा २ सय २३ जना खोप स्वास्थ्यकर्मी, ४ सय ४६ जना स्वयंसेवक र ८१ जना सुपरीवेक्षक खटिने समेत बताइएको छ ।
खोप लगाउने लक्षित संख्यामध्ये फुङलिङमा १ हजार ७ सय ५० जना बिद्यालयमा र ३ सय ४८ जना बिद्यालय बाहिर, पाथीभरा याङ्वरकमा ४ सय ४२ जना बिद्यालयमा र ९० जना बिद्यालय बाहिर, सिरिजङ्गामा ६ सय ७८ जना बिद्यालयमा र १ सय ४३ जना बिद्यालय बाहिर तथा सिदिङ्वामा ५ सय ४६ जना बिद्यालयमा र ९५ जना बिद्यालय बाहिर हुनसक्ने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।
त्यस्तै लक्षित उमेर समूहका मध्ये फक्ताङलुङ गाउँपालिकामा ५ सय ६० जना बिद्यालयमा र ९२ जना बिद्यालय बाहिर, मिक्वाखोलामा ३ सय ५८ जना बिद्यालयमा र ७६ जना बिद्यालय बाहिर, मेरिङदेनमा ५ सय ३५ जना बिद्यालयमा र १ सय ७ जना बिद्यालय बाहिर, आठराई त्रिबेणीमा ५ सय ३४ जना बिद्यालयमा र १ सय २२ जना बिद्यालय बाहिर र मैवाखोलामा ५ सय ५१ जना बिद्यालयमा र ९१ जना बिद्यालय बाहिर रहेको अनुमान स्वास्थ्य कार्यालयका रायले जानकारी दिए ।
देशभरी करिव १७ लाखलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने
सरकारले देश भरी १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने तयारी गरेको छ । २२ माघदेखि ६ फागुन सम्म देशव्यापी रूपमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको हो ।
हाल सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा ७० करोड पाँच लाख मूल्यको १७ लाख ७० हजार २० डोज खोप ल्याएको हो । १२ करोड हाराहारी बजेट नेपाल सरकारले खर्च गरेको छ भने अन्य गाभीले व्यहोरेको छ ।