
ईपूर्वपोष्ट
ताप्लेजुङ, १२ माघ । माघ २७ गते देखि मैवाखोला गाउँपालिकामा ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
१५ औं रष्ट्रिय रनिङ शिल प्रतियोगिता मैवाखोलामा हुने भएको हो । बार्षिकरुपमा हुने प्रतियोगिताको जानकारी शनिवार पत्रकार सम्मेलन मार्फत गराएको हो ।
प्रत्येक स्थानिय तहमा पालोपालो हुने गरेको प्रतियोगिता यसवर्ष मैवाखोला गाउँपालिकामा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावोले माघ २७ देखि ३० गते सम्म मैवाखोला गाउँपालिका स्थित नारायणी मावि साँघुको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । उनले ६ बिधाका खेल हुने बताए ।
प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि खेल हुने समेत अध्यक्ष माबोले जानकारी दिए । खेलहरुमा भलिबल र कबड्डीतर्फ महिला र पुरुष दुबैमा सेमीफाइनल पुग्ने थप २–२ टोलीलाई समेत कास्य पदक दिइने भएकोले कास्य पदकको संख्या स्वर्ण र रजत भन्दा बढी हुने जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए ।
खेलकुद विकास समितिको कार्यालय प्रमुख पौडेलले भलिबल र कबड्डीतर्फ तर्फ छात्र र छात्रा दुबैमा गरी २–२ स्वर्ण, २–२ रजत र ४–४ कास्य पदकका लागि खेल हुने बताए । यस्तै एथलेटिक्स छात्रछात्रातर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि खेल हुने भएको छ । सितोरियो कराँते र तेक्वादोतर्फ छात्रछात्राका लागि १२–१२ स्वर्ण,१२–१२ रजत र १२–१२ कास्य पदकका लागि खेल हुने छ । उसुतर्फ समेत १२ स्वर्ण, १२ रजत र १२ कास्यका लागि खेल हुने जिल्ला खेलुकद समितिले जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिले निर्देशिका र मापदण्ड बाहिरका खेलाडीलाई प्रतियोगितामा समावेश नगर्ने प्रष्ट पारेको छ । अध्यक्ष मावोले निर्देशिका र मापदण्ड अनुसारका खेलाडी मात्र प्रतियोगितामा समावेश गराउने भएकोले यसलाई सबै पालिकाले बुझिदिने विश्वास बताए । प्रतियोगिताको संयोजन गरिरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकास वनेमले प्रतियोगितामा बिद्यालय स्तरमा लुकेका खेल प्रतिभाको स्वतन्त्र पहिचान र खेल क्षमता प्रवद्र्धनमा आधारित हुने भएकोले मापदण्ड र निर्देशिका विपरितका खेलाडीलाई प्रतियोगितामा नपठाउन आग्रह गरेको छन् ।