इपूर्वपोष्ट
ताप्लेजुङ, २० पुष । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । भवन उत्घाटन सगैं शाखाद्वारा प्रकाशित ‘ताप्लेजुङ सञ्चार स्मारिका’ पुस्तक सार्वजनिक गरिएको छ । नवनिर्मित भवन उत्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्यद्वाय लीलादेवी बोखिम, उर्मिला थेबेलगायतले संयुक्तरुपमा गर्नुभएको छ । ‘ताप्लेजुङ सञ्चार स्मारिका’को पनि उहाँहरुले नै संयुक्त रुपमा सार्वजनिक (विमोचन) गर्नुभएको छ ।
त्यस्तै सदरमुकाम फुङ्लिङ स्थित महासङ्घको नवनिर्मित कार्यालयमा आयोजित कार्यक्रमकाबिच निवर्तमान कार्यसमितिले नयाँ निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण समेत गरेको छ । नयाँ कार्य समिति निर्वाचित भएको तीन सातापछि शनिबार पद हस्तान्तरणसँगै सफल कार्यकालको बधाई तथा शुभकामना ज्ञापन गरिएको हो । निवर्तमान शाखा अध्यक्ष आनन्द गौतमले नवनिर्वाचित अध्यक्ष सुवास आचार्यलाई बैठक पुस्तिका प्रदान गरी पद हस्तान्तरण गर्नुभयो ।
यस्तै अध्यक्ष आचार्यसहित निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश र केन्द्रीय परिषद सदस्यलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्तोषकुमार सार्की, संगीता कार्की, सचिवमा कृष्ण फुरुम्बो, सहसचिवमा साहारा लङ्वा र मनमाया माबो, कोषाध्यक्ष मदन गौतम निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा एलिना दियाली, तरुण भारती, दिलकुमार लिम्बू, रञ्जना गुरुङ, टीकामाया यक्सो, किरण विक, सुनिता रसाइली र नारद गुरागाई निर्वाचित हुनुभएको छ । त्यस्तै प्रदेश परिषद सदस्यमा दिनेश लिङ्खिम र सूर्यप्रसाद लिम्बू (आलोक) तथा केन्द्रीय परिषद सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्र पन्दाक (प्रयास) निर्वाचित हुनुभएका छन् । गत मङ्सिर २८ गते सम्पन्न महासङ्घको निर्वाचन मार्फत ताप्लेजुङ शाखा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको थियो ।
त्यस्तै कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, राजनीतिक दल तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यता प्रतिनिधिसभा सदस्यसहितका जनप्रतिनिधि र अन्य वक्ताले नयाँ कार्यसमितिलाई बधाई दिँदै सर्वसम्मत समिति चयन भएजस्तै सबैको सहमति र सहकार्यबाट काम गरेर अघि बढ्न सुझाव दिनुभएको छ । पत्रकारिता पेशा तथा संस्थागत हितका निम्ति सबै पत्रकारहरु एकठाउँमा हुनेगरी भूमिका निर्वाह गर्न सकेमा कार्यसभिति सफल हुने पनि उहाँहरुको सुझाव थियो ।
यस्तै जिल्लामा रहेका पत्रकारहरुलाई निष्पक्ष र निःस्वार्थ भावनाका साथ कलम चलाउन पनि उहाँहरुले आग्रह गर्नभएको छ । समग्र जिल्लाको सम्मुनति, समृद्धि, सुशासन र विकासका लागि पत्रकारिताको माध्यमबाट निष्पक्ष र तथ्यपूर्ण सूचना सम्प्रेषण गर्न आग्रह गर्दै तथ्यपूर्ण र खोजमूलक पत्रकारिता गर्नसमेत स्थानीय पत्रकारलाई जनप्रतिनिधिको सुझाव छ ।
कार्यक्रमको अवसरमा शाखाको कार्यालय भवन निर्माण गर्न निःशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादाता फुङ्लिङ नगरपालिका–२ का हर्कबहादुर गुरुङलाई समेत सम्मान गरिएको छ । त्यस्तै मङ्सिर २८ गते नै सम्पन्न पत्रकार महासङ्घको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित माला पालुङ्वालाई पनि जिल्ला शाखाले सम्मान गरेको छ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको आठौं कार्यकालका लागि हालको नयाँ कार्यसमिति निर्वाचित भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय