केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २० पुष । एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले कांग्रेस र एमालेको संयुक्त सरकारले छिट्टै नै सहमतिमा नेपालको संविधान संशोधन गर्नेबताउनुभयो ।

शनिबार ताप्लेजुङमा आयोजित कार्यक्रममा संविधान संसोधन गर्न दुवै पार्टीको सहमति, सहकार्य हुने र संशोधनले संघीय लोकतान्त्रिक गणतन्त्र अझ मझबुत बनाउने सचिव भट्टराईले दाबी गर्नुभयो ।

जनताको सहभागितालाई सुनिश्चित गर्नु, सबैको पहिचानलाई सुनिश्चित गर्नु, सबै तहका सरकारलाई काम गर्ने वातावरण बनाउन पनि संविधान संसोधन गर्न लागिएको सचिव भट्टराईलेबताउनुभयो ।

कानुनले कानुनलाई अल्झाइरहेको बताउँदै हिउँदे अधिवेशनमा धेरै कानुन संसोधन गरिने सचिव भट्टराईको भनाइ थियो । उनले बाटो खन्न जाँदा वनको कानुनले अल्झाउने, वनमा काम गर्न गयो बाटोको कानुनले अल्झाउने भएकाले धेरै कानुनलाई संसोधन गरेर सहज वातावरण बनाइने उल्लेख गर्नुभयो ।

संसदमा विचाराधीन १९ वटा विधेयकलाई आगामी हिउँदे अधिवेशनमा पास गर्ने बताउँदै ०८४ सम्म कुनै हालतमा हलको सत्ता सहकार्य नछुट्ने समेत सचिव भट्टराईले जनाए । सचिव भट्टराईले संसद नियमावली संसोधन गरेर भए पनि एउटा विधेयक संसदमा टेबल भएको तीन महिनाभित्र पास गरेर जाने वातावरण बनाउने समेत बताए । कानुनहरू बन्न नपाउदा प्रदेश, स्थानीय तहमा ठुलो समस्या आएको उनको भनाइ छ ।

विदेशी मुद्राको सञ्चिति ऐतिहासिक रूपमा बढेकाले आर्थिक सुधारमा वर्तमान सरकार अब्बल देखिएको उहाँले बताउनुभयो । वर्तमान सरकारले विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्न सकेको भट्टराईको ठम्याइ छ। नेपाली लोकतान्त्रिक आन्दोलनमा अग्रणी दुई दलको सरकारप्रति जनताको आशा उच्च रहेकाले यो सरकारलाई असफल हुने ,पछाडि हट्ने र बहाना गर्ने कुनै छुट नभएको उहाँले बताउनुभयो । सत्ता सहकार्य गर्ने क्रममा दुई दल बीच भएको सहमति अनुरुप कानुन एकीकृत गर्न र अपुर्ण विषयहरुलाई संशोधन गर्न संविधान संशोधन गर्न लागिएको स्पष्ट पार्नुभयो। संविधान संशोधन गरिँदा आम बुद्धिजीवीसँग समेतको सहकार्य गरिने भट्टराईको भनाइ छ।
फरक प्रसङ्गमा बोल्दै भट्टराईले विकास निर्माणमा कसैको पहिचान खोस्ने काम नभएको बताउनुभयो । विकासलाई रोक्ने किसिमको गलत क्रियाकलापको पछि नलाग्न समेत आम जिल्लावासीलाई उहाँको आग्रह रहेको छ। पाथिभरामा बन्न लागेको केवलकारलाई विभिन्न बहानामा अवरोध सृजना गरेर लगानीकर्तालाई हात झिक्ने अवस्था आउन दिन नहुने उहाँले बताउनुभयो । विभिन्न पार्टीगत आस्था रहेता पनि जिल्लाका सम्पूर्ण जनप्रतिनिधि । विकास निर्माणमा एक ठाउँमा रहेको भट्टराईको भनाई छ ।

नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको नवनिर्मित भवन उद्घाटन गर्दै देश र जनताको लागि अहिलेको सरकार कटिबद्ध रहेको सचिव भट्टराईले जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय