
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २० पुष । हिमाली जिल्ला ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । हरेक किसिमका तालिममा सहभागी भएर सीप सिकेसँगै आत्मनिर्भर बन्दै गएका छन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने यहाँका महिलाहरूको भनाइ छ ।
उद्यमी बन्न चाहने महिलालाई विभिन्न संघसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गर्नका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएर गाउँगाउँमा महिलालाई प्रोत्साहन गर्दै आएका छन् ।
हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङलिङ नगरपालिका–१० वडाको समन्वय तथा रेड पान्डा नेटवर्क, फुङलिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा अल्लो प्रशोधन गरी आएको धागोबाट झोला बुनाई तालिम सञ्चालन गरिएको छ । फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बुका १६ महिलाहरू सोही तालिमबाट आत्मनिर्भर बनेका छन् । उनीहरूले गत वर्ष दुईमहिने अल्लो प्रशोधन तालिम लिएको थिए । यस वर्ष झोला बनाउने तालिम लिएसँगै आत्मनिर्भर बनेका छन् ।
फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले तालिम दिएर स्थानीय महिला तथा पुरुषलाई आत्म निर्भर बनाउने तर्फ लागि परेको बताए । गाउँघरमा नै सिप सिकाई विशेष गरेर महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको समेत मेयर मादेनले बताए । यसरी स्थानीय स्तरमा नै उद्यमी बन्ने महिला तथा पुरुषलाई लगानी समेत उपलब्ध गराउने नगरप्रमुख मादेनले बताए । आवस्यक तालिम समेत व्यवस्था गरि उद्यमी बनाउने प्रणसमेत मेयर मादेनले गरे ।
फुरुम्बुका १६ जना महिलाहरू अहिले धागो प्रशोधन सगै झोलाबनाउने उद्योग सञ्चालन गर्न सक्ने भएको प्रशिक्षक विष्णु कुमारी श्रेष्ठले बताईन् । श्रेष्ठलाई तालिम दिन सक्ने बनाएको पनि घरेलु तथा साना उद्योगले नै हो ।
अल्लोबाट मात्र नभएर महिलाहरुले जंगलमा फुल्ने लाँलिगुराँसबाट जुस उत्पादन गरि विक्रि गरि रहेको मैवाखोला गाउँपालिका ३ साँघुकि लिला निरौलाले बताईन् । निरौलाले ११ जनाले उत्पादन शुरुगरेको र गुराँस फुलेकाबेला यसलाई नियमितता दिने पनि जानकारी दिईन् । गाउँगाउँमा उद्यमी बनाउने उदेश्य रहेको जिल्ला घरेलु तथा सानाउद्योग ताप्लेजुङका सूचना अधिकारी नविन भट्टराईले बताए ।
सूचना अधिकारी भट्टराईले सामुदायिक तथा सरकारी वन क्षेत्रमा पाइने अल्लो, गुराँस साथै विभिन्न वस्तुलाई निकायसँग समन्वय गरेर उद्यमीहरुलाई प्रोत्साहन गर्ने बताए ।
गाउँमा विभिन्न उद्योगमा सम्बन्धित औझारहरू उपलब्ध गराउँदै लगिएकोसमेत घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।