
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २४ मंसिर । हिमाली जिल्ला ताप्लेजुङ पर्यटकीय जिल्ला हो । ताप्लेजुङ जिल्लाको नामाकरण प्राचिन कालमा ‘ताप्ले’ नाम गरेको राजाको जोङ (किल्ला) भएकाले ताप्लेजुङ नाम रहन गएको किबतन्ति छ । यो जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ । उत्तरी अक्षांस २७० १५” र २७० ५७” र पूर्वी देशान्तर ८७० २७” र ८८० १२” बिच समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा हिमाल सम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ ।
औषत तापक्रम ११.३० सेल्सियस (न्यूनतम ० डीग्रि सेल्सियस (पुस), अधिकतम ३० डिग्री सेल्सियस (जेष्ठ), वर्षा औषत १४४ मिलिमिटर रहेको छ । यो जिल्लालाई संघीय तर्फ एक निर्बाच क्षेत्र, प्रदेश तर्फ २ निर्वाचन क्षेत्र, ८ गाउँपालिका र १ नगरपालिकामा विभाजन गरिएको छ । ताप्लेजुङ नगरपालिका स्थित फुङ्लिङ बजार यो जिल्लाको सदरमुकाम हो । यो जिल्लाको उत्तरमा चीनको तिब्बत, पुर्वमा भारतको सिक्किम, पश्चिममा संखुवासभा, दक्षिणमा तेह्रथुम र पाँचथर जिल्ला पर्दछ ।
विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा (८५८६ मिटर) र अन्य ७००० मिटर भन्दा अग्ला १० वटा भन्दा बढी हिमालहरु रहेको जिल्ला हो । नेपालको सबैभन्दा धेरै हिमताल लगभग ३००, नेपालमा सर्वप्रथम सुर्योदय हुने जिल्ला पनि ताप्लेजुङ हो । जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजाति, बहुभाषीक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङ जिल्लालाई लिन सकिन्छ । धार्मिक दृष्टिले अत्यन्त महत्व मानिएको पाथिभरा देवीको मन्दिर जिल्लाको एक धार्मीक पर्यटकको केन्द्र हो । जिल्लाको सदरमुकाम देखि ९ किलोमिटर उत्तोर–पूर्व सुकेटार विमान स्थल रहेको छ । तमोर नदि लगायत सयौं खोला खोल्सा रहेको यो जिल्ला पछिल्लो समय विद्युत हवबन्दै गएको छ ।

पूर्वाधार विकासमा पछि परेको एक मात्र फुङलिङ नगरपालिका
ताप्लेजुङ जिल्लामा १ मात्र नगरपालिका फुङलिङ नगरपालिका हो ।
साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि.सं.२०७१ साल बैशाख २५ गते गठन भएको नयाँ नगरपालिका हो । हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको छ । ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिका नेपालको कोशी प्रदेश सूदुर पुर्वोत्तरमा अबस्थित छ । यस नगरपालिकाको कुल क्षेत्रफल २५.५७ बर्ग किलोमिटर रहेको छ । ताप्लेजुङ जिल्ला २७८१५ देखि उत्तरी अक्षांश र ८७८ ३२” पूर्वी देशान्तर भित्र पर्दछ । नेपालकै पहिलो घामको झुल्को पर्ने ताप्लेजुङ जिल्लाको सदरमुकाममा अबस्थित फुङलिङ नगरपालिका बिस्तारै आधुनिक शहरको रुपमा विकास भइरहेको शहर हो । तर, अहिले सम्म भौतिक पूर्वाधार भने कमजोर रहेको छ ।
जातजातीको फुलबारी, आदिवासी जनजाति तथा संस्कृति
ताप्लेजुङ्ग जिल्ला बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संगम स्थल मानिन्छ । जिल्लाको तल्लो भेगमा ब्राम्हण क्षेत्री आदि जातजातिहरु बसोबास गर्ने गर्दछन् भने उच्च पहाडि भेग ओलाङचुङगोला, घुन्सा, याङमा, तोक्पेगोल, शेर्पा लगायतका जातजाति बस्ने गर्दछन् । यी जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, पेशा, खेतिपाति चौरी पालन, छुर्पी, घ्यु उत्पादन र गलैचा व्यापार, संस्कार चाडपर्व ङ्युङ्ने, ठुक्पाछेसी, फुटुक, ग्यासो भेषभुषा बख्खु, दोचा, आङ्गी, पाङदेन, केतेन, गरगहना रेजी, हारी, काउ, सुकुम पोसिल, खानपिन, लोकनाच स्यार्बा र लोक परम्पराहरु छन् । ओझेलमा परेका यी परम्पराहरु प्रचार प्रसारको अभावमा बाहिर आउन सकेका छैनन् ।
लिम्बूको बाहुल्यता
मध्य पहाडी भेगमा बसोबास गर्ने आदिम जातजाति मध्ये लिम्बू जाति ताप्लेजुङ्ग लगायत पूर्वी नेपालको मुख्य आदिवासी जनजाति हो । यो जातिको आफ्नै भाषा, धर्म, संस्कार, संस्कृति (यवा नाच, धान नाच, च्याब्रुङ नाच), धर्म चालचलन परम्परा भाषा लिपी, चाडपर्व (चासोक तङनाम, ककफेक्वा तङनाम, वलिहाङ तङनाम) भेषभुषा (तागा, मेख्ली, गरगहना, साम्याङफुङ, नेसे) खानपिन (तोङवा) लोकगीत (पालम, हाक्पारे, ख्याली) र मौलिक परम्पराहरु छन् । लिम्बु जाति विश्वकै पृथक पहिचान बोकेको जाति मध्ये पर्दछ । अन्य जातिहरुमा गुरुङ, मगर, राई, तामाङ, सुनुवार, भुजेल, नेवार, कामी, दमाई, सार्की, क्षेत्री र ब्राम्हण आदि जातिहरु पनि प्रसस्तै रहेका छन् ।
मुख्य वन्य जन्तु र चराचुरुङीहरुको खानी ताप्लेजुङ
ताप्लेजुङ्ग दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पाइने जिल्ला हो । यो जिल्ला समुन्द्र सतह ७७७ देखि ८५८६ मिटर उचाइसम्म भएकोले यहाँ विविध किसिमका वन्यजन्तु र चराचुरुङ्गीहरु पाइन्छन् ।
मुख्यत विश्वमा दुर्लभ हिँउचितुवा, हिमाली भालु, हाब्रे (रेडपाण्डा), कस्तुरी, मृग, चितुवा, भालु आदि प्रसस्तै पाइन्छन् । त्यसैगरी डाँफे, मुनाल, मयुर, कालिज, चिमिले, काँडे भ्याकुर, हुचिल, गिद्दि आदि दुर्लभ चराचुरुङ्गीहरु पनि प्रसस्तै पाइन्छन् । विशेषगरी कंचनजंघा, तिम्बुङ पोखरी, पाँथीभरा, तोक्पेगोला तथा ओलाङचुङगोला क्षेत्रमा वन्य जन्तु तथा चराचुरुङ्गी पउनुको साथै अवलोकन गर्न पनि पाईने बन्य जन्तु तथा चराचुङ्गीहरुको संरक्षणमा लागेको कञ्चजंघा संरक्षण क्षेत्रको भनाई छ ।

महत्वपूर्ण जडिवुटीहरु
ताप्लेजुङ्मा महत्वपुर्ण जडिवुटिहरु अत्याधिक रुपमा पाइन्छन् । पाँच औले, विख्मा, कुट्की, चिराइतो, सर्मागुरु, पदमचाल, पाखनवेद, टिमुर, यार्सागुम्बा, अलैची, चिराइतो आदि प्रमुख जडिबुटीहरु हुन् । खोज र अन्वेषणको कमीले धेरै जडिबुटिहरु प्रकाशनमा आएका छैनन् । यस जिल्लाको मुख्य आयस्रोत नगदेबालीको रुपमा अलैची र चिराइतोलाई लिइन्छ । यो जडिबुटि पहाडि भेगमा उत्पादन हुने भएकोले जिल्लाको अधिकांश क्षेत्रमा उत्पादन हुन्छ ।
महत्वापुर्ण पर्यटकीय गन्तव्यहरु
हिमाली जिल्ला भएका कारण यहाँ पर्यटकीय गन्तव्यहरु धेरै रहेका छन् । जिल्लाको हिमाली भेगमा पर्ने हिमाली गाउँ ओलाङचुङगोला एक पर्यटकीय गन्तव्य हो । हिमाल भित्र लुकेयो यो बस्ती लहरै काठैकाठले बनेको छन् । यहाँ ४ सय बर्ष पुरानो मानिएको दिकिछ्यालिङ गुम्बा रहेको छ ।
सयौं पोखरी तथा तालहरुले सुसजित यस जिल्लाको तिम्बुङ पोखरी पर्यटकीय गन्तव्य हो । सिदिङ्वा गाउँपालिकामा रहेको यो पोखरी नेपाल र भारतको सिमानामा पर्दछ । उता, फुङफुङ्गे झरना जिल्लाको सान हो । मिक्वाखोला गाउँपालिका सावामा रहेको यो झरना प्राकृतिकरुपमा अत्यन्तै सुन्दर छ । यी लगायत पाथिभरा देवी धार्मीक तिर्थयात्रीको लागि धेरै ठुलो गन्तव्य बनेको छ । यसअलाभा सोदोपोखरी, सिजेमा ताल, तोक्पेगोला लगायत हजारौं गन्तव्य रहेको योजिल्ला अनुपम सुन्दरताले भरिएको छ ।
ताप्लेजुङ्ग पुग्ने कसरी ?
हवाई यातयात एक सुकेटार विमान स्थलः काठमाडौ – ताप्लेजुङ्ग
सडक यातायातः झापाको बिर्तामोडबाट–इलाम–फिदिम हुदै (फुङ्लिङ्ग बजार, मेची राजमार्ग २३८ कि मी)
ईटहरी हुदै धरान–धनकुटा–हिले–बसन्तपुर–गुफा–दोभान–ताप्लेजुङ (कोशीराज मार्ग १९० कि मी)