
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १८ असोज । ताप्लेजुङ जिल्लाका स्थानीय सरकार सडक मर्मतमा जुटेका छन् । बाढी–पहिरोले ध्वस्त भएका सडक खुलाउन तथा स्तर उन्नती गरि सहजरुपमा यातायात संञ्चालन गर्न स्थानीय तहले पहल गरिरहेका हुन् । मैवाखोला गाउँपालिकाको दोभान देखि गाउँपालिकाको केन्द्र साँघु सम्म तथा विभिन्न ग्रामीण सडकहरू सफा गरिसकेको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।
‘रातारात गरेर सडक सफा गरिरहेका छौं’ वनेमले भने, ‘अहिले गाडी चल्दैछ, फेरि पानी प¥यो भने चाँहि गाह्रो हुने छ ।’ पालिकाका ६ वटै वडामा रहेका मुख्य र शाखा सडक मर्मत सम्भार गरी यातायात सेवा नियमित गर्न कार्यपालिकाको बैठकबाट १७ वटा सडक छनौट गरिएको अध्यक्ष वनेमले जानकारी दिए । प्रत्येक वडामा पुग्ने सडक छनोट गरि काम भईरहेको छ अध्यक्ष वनेमले बताए ।
स्थानीय तहको मातहतमा नरहेका ठुला सडक भने विग्रिएर यातायात सञ्चालन नहुने भएकाछन् । तर, केन्द्र तथा सडक विभागले ती सडकहरु वस्ता नगर्दा समस्या खड्किएको अध्यक्ष वनेमको भनाई छ । तेह्रथुमको बसन्तपुर देखि गुफा दोभान हुदै ताप्लेजुङ सदरमुकाम सम्म पुग्ने मदन भण्डारी राजमार्ग विग्रीएको छ । सडकलाई डुब्लिकेशन डरले स्थानीय तहले मर्मत गर्न पनि कठिन छ । सडक विभागले पनि वस्ता गर्दैन त्यही भएर समस्या भएको अध्यक्ष वनेमले जानकारी दिए । जे भएपनि केही मर्मत गरेर यातायात सञ्चानल गर्नै पर्ने अवस्था भएकोले मर्मत गरेर भएपनि सडक संञ्चालनमा ल्याएको अध्यक्ष वनेमले बताए ।
उता, आठराई त्रिवेणी गाउँपालिकाले चाडपर्व नजिकिएसँगै वडा–वडाका सडक मर्मत तथा स्तरोन्नतीको काम जारी राखेको छ । गाउँपालिकाले जेसिबी प्रयोग गरेर अविरल वर्षाले विग्रिएका सडक मर्मतको काम जारी राखेको हो ।
गाउँपालिका अध्यक्ष दीपेन पोमुले गाउँपालिकाभित्रका सडकमा सहज यात्रा गर्न मिल्नेगरि मर्मतको काम गरिएको बताए । अध्यक्ष पोमूले भने,‘अविरल वर्षाले धेरै ठाउँको सडक विग्रिएको छ । संम्भवत दशै अगावै सहज यात्राका लागि सडक मर्मतको काम सक्छौ ।’ पहिरोले अवरुद्ध बनेको फूलबारी चोकपुर सडकको पहिरो समेत पन्छाएको छ ।
सबै गाउँपालिकाले सडक मर्मतलाई तीब्रता दिएको छ । उता, सिरिजंघा गाउँपालिकाले पनि सडकहरु मर्मतको कामलाई तिब्रता दिएको छ । जिल्ला सदरमुकाम जोड्ने तेल्लोक, आम्बेगुदिन सिनाम सडकको मर्मत गरेको छ ।
उता, बाढि पहिरोबाट प्रताडित फक्ताङलुङ गाउँपालिको हरेक क्षेत्रका सडकहरु मर्मत गरिएको छ । पालिकाका अध्यक्ष राजन लाबुङ लिम्बुले यस बर्ष हाम्रो गाउँपालिका थिलथिलो भएको बताए । बाढी र पहिरोले सिथिल बनेको यो गाउँपालिकाम अहिले पनि बर्षा भईरहेको अध्यक्ष राजनले बताए । उनले केही सडकहरु मर्मत गरेको बताउदै मर्मत गरिसक्दा पानिले बगाउने गरेको र पानी रहेपछि सबै बाटोहरु मर्मत गरिने जाकारी दिए । जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिकाले भने बाटो मर्मत गर्न वेवस्ता गरेको स्थानीयको भनाई छ । नगरपालिका जनताको सेवामा नलागेको स्थानीयको गुनासो रहेको छ ।