
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, भदौ १० गते । सगरमाथा युथ क्लव मोरङले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ‘ताप्लेजुङ गोल्डकप’को उपाधी चुमेको छ । सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधि चुमेको हो ।
उपाधि रक्षाका लागि खेल सुरु भएको तीन मिनेटमा मोरङका विजय भुजेलले गोल गर्नुभएको थियो । दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि हात पार्नका लागि भुजेलले गरेको उक्त गोल नै निणायक बन्यो । खेलको सुरुवात अवस्थामा नै मोरङलाई एक गोलको अग्रता प्राप्त भएपछि खेललाई बराबरीमा लैजान सिराहाले निकै आक्रामक खेलेको थियो । अन्तिमसम्म आक्रामक खेल प्रदर्शन गरे पनि सिराहा गोल लगाउन हर प्रयत्नबाट मोरङले गोल गर्न छेक्यो ।
सगरमाथा युथ क्लबले उपाधि जितेसँगै ट्रफी, मेडल र प्रमाणपत्र सहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गरेको छ । उपबिजेता बनेको सलहेश युवा क्लबले मेडल, प्रमाणपत्र र नगद दुई लाख ५० हजार ५५५ रुपियाँमा चित्त बुझाउनुपरेको छ । प्रतियोगिताको सेमीफाइनलमा मोरङ आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई पराजित गर्दै र झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबलाई हराउँदै सिराहा फाइनलमा पुगेका आयोक समितिका अध्यक्ष देवराज गुरुङले बताए ।
यसैगरी सोमबार भएको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी सगरमाथाका सौभाग्य राई सबोत्कृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपियाँ पुरस्कार पाए ।
यस्तै सगरमाथाकै गोलकर्ता समेत रहेका विजय भुजेल सर्वश्रेष्ठ खेलाडीका रुपमा पुरस्कृत हुँदै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे । त्यस्तै उत्कृष्ठ गोलरक्षकमा मोरङका प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्स सिराहाका कुलदिप कार्की, उत्कृष्ट मिडफिल्डर सिराहाकै सन्तोष खत्री घोषित भए । उहाँहरु तीनैजनाले समान १०–१० हजार रुपियाँ पुरस्कार पाए ।
यता, प्रतियोगिताका बिजेतालाई प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले ट्रफी, मेडल, प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरेका छन् । उपबिजेता सहित विभिन्न विधागत उपाधि प्राप्त गर्ने खेलाडीलाई प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, खगेनसिंह हाङ्गाम, निर्मला तावा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा लगायतका जनप्रतिनिधिले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारहरु वितरण गरे ।
प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गर्ने प्रतियोगितामा यसवर्ष भारतको सिलिगुढी, नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, सुपर लिग खेलेको बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देही सहित आठ टोली सहभागी भएका थिए । उता लाखेजात्राको अवसरमा आयोजना हुने गरेको यो प्रतियोगिता ताप्लेजुङकै खेल इतिहासमा पुरानो मानिँदै आएको छ ।
विगत २०२० सालदेखि विभिन्न नाममा खेलाइँदै आएको प्रतियोगिता गतवर्षदेखि भने ताप्लेजुङ गोल्डकपका नाम दिएर आयोजना गर्न सुरु गरिएको बताईएको छ । प्रतियोगितालाई निरन्तरता दिन र थप व्यवस्थित तथा उत्कृष्ट बनाउने उद्देश्य सहित यसवर्ष देखि पुरस्कार राशि पनि वृद्धि गरिएको आयोजक समितिका अध्यक्ष देवराज गुरुङले बताए । सुरुको पुरस्कार राशि वृद्धि गर्दै गतवर्ष सम्ममा विजेतालाई तीन लाख ११ हजार १११ रुपियाँ र उपविजेतालाई एक लाख ५१ हजार १११ रुपियाँ भएपनि यस बर्ष बढाईएको हो ।