भोमादेवी पोख्रेल
ताप्लेजुङ, ८ भदौ । बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई पराजित गर्दै सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा ४–२ को गोलअन्तरले बिर्तामोडलाई पराजित गर्दै सलहेश सिराहा फाइनलमा पुग्ने दोस्रो टिम बनेको छ ।
शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको समयावधिमा एक–एक गोल बराबरी खेलेका दुवै टोली थपिएको १५ मिनेटको अतिरिक्त समयमा गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । निर्धारित समयावधिको खेलमा भने खेल सुरु भएको १८ औं मिनेटमा सिराहाको तर्फबाट विदेशी खेलाडी ग्लोरी जोनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभएको थियो ।
सिराहाको अग्रतालाई खेलको उत्तरार्धको ५६ औं मिनेटमा झापाका सौरभ सुब्बाले गोल गर्दै बराबरीमा पु¥याउनुभएको थियो । त्यसपछिको समय र थप भएको अतिरिक्त समयमा समेत दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन् ।
पेनल्टी सुटआउटमा सिराहाका जय भण्डारी, आदित्य शाक्य, सन्तोष क्षेत्री र प्रभाष दनुवारले १÷१ गोल गर्दै ४ गोल बनाए । तर, सिराहा कै सिर्जन क्षेत्रीले हानेको गोल भने झापाका गोलकिपर अम्बिका बरालले बिफल बनाएका थिए ।
उता, झापाका तर्फबाट पेनल्टी सुटआउटमा हिसव थपलिया र रोहन कार्कीले १÷१ गोल गर्दै २ बनाएका थिए । तर, झापाकै निमा तामाङले हानेको गोल सिराहका गोलकिपर प्रदिप भण्डारीले विफल बनाए दिए । भने झापाकै सौरभ लिम्बुले हानेको बल पोलमा ठोकिएर आउट भए पछि ४–२ गोल गर्दै सिराहा फाईनलमा पुग्ने दोश्रो टिम बनेको हो ।
शनिबारको सेमीफाइनलमा जित निकालेको सिराहाले सोमबार हुने फाइनलमा सगरमाथा युथ क्लब मोरङसँग उपाधि भिडन्त हुने छ । यता शनिबार भएको खेलमा सलहेश युवा क्लबका गोलरक्षक प्रदीप भण्डारी सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय