
काठमाण्डाै, १६ साउन । दार्चुलाको व्यास गाउँपालिका–२ मालमा महाकाली तर्ने क्रममा बेपत्ता जयसिंह धामी अझै फेला परेका छैनन् । हिजो बिहानदेखि बेपत्ता धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।
महाकाली नदीसँग बग्दै जाने बैतडी र कञ्चनपुर प्रहरीलाई पनि आवश्यक खोजीमा सहयोग गर्न भनिएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेपछि जयसिंह महाकाली नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाको दाबी छ ।
स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा पुगेर घटनाबारे हिजो नै जानकारी गराएका थिए । लगत्तै भारतीय पक्षसँग कुरा गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँड पनि घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन हिजो बेलुका प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।
याे पनि पढ्नुहाेस् ।
दार्चुला घटनाको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
निर्देशनपछि घटनाबारे बुझ्न आज बिहान दार्चुलाका प्रहरी नायब उपरीक्षक डीएसपी वीरसिंह धामीको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आज बेलुकासम्म घटनाको प्रारम्भिक विवरण आउने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
सामान लिन भारतको बाटो हुँदै आइरहेको अवस्थामा तुइन तर्न लाग्दा एसएसबीले एक्कासी तुइन काटिदिएको स्थानीय विक्रम सिंह धामीले बताउनुभएको छ ।
नेपालतर्फको मालघाट र भारततर्फ जयकोट गस्कुमा स्थानीय बासिन्दाले वारपार गर्न तुइन राखेका थिए । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउन भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ । Ujyaalo