
पूर्वपोष्ट
ताप्लेजुङ, ३२ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमको तिङ्दुमा माथिबाट झरेको पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्राका बुबा ७० वर्षिय रामबहादुर साम्रा लिम्बू, उनकी कान्छि श्रीमति ४८ वर्षिया जसयमाया लिवाङ साम्रा लिम्बू र उनीहरुका दुई जुम्ल्याहा छोरीहरु १० वर्षिया गंगा र जमुना रहेको मृत्यु भएको प्रहरी प्रमुख रवी रावलले बताए ।
उता, साही वडाको खेजेनिम मा.वि.छेउमा ४० वर्षिय युगेन लिम्बू र उनकी ३ वर्षिया छोरी पहिरोले बगाउदा सक्त घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक कमलकुमार लुङ्गेलीले बताउनुभयो । युगेनको घर माथिबाट आएको पहिरोले बगाएको थियो । घाईतेलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट लुङगेलीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ भने सिँवा प्रहरी चौकीबाट शुक्रवार बिहानै प्रहरी घटनास्थल पुगेर पहिरोबाट शव निकाल्नेलगायत उद्धारको काम गरिरहेको बताइएको छ । पहिरोले पुर्याएको अन्य क्षतिको विवरण आउनलाई समय लाग्ने प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।
खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईले पहिरोले बगाएर लिम्बूले पालेका दर्जनौँ पशु चौपायासमेत मरेका छन् । खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले जानकारी दिनुभयो । गए राति करिब १ बजेतिर माथि देखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईले बताउनुभयो । उहाँका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उहाँका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् ।