
काठमाण्डौ, २५ जेठ । दुई सय ८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा लगानी जुटेको छ । परियोजनामा एभरेष्ट बैंकको नेतृत्वमा ३८ अर्ब ६० करोड ऋण लगानी हुने भएको हो । बिहीबार काठमाडौंमा एक कार्यक्रममा परियोजनाको प्रवद्र्धक कम्पनी तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले हस्ताक्षर गरेका छन् ।
एभरेष्ट बैंकको नेतृत्वमा गरिने ऋण लगानीमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएल) र कृषि विकास बैंकले को-लिड गरेका छन् । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी सन्राइज बैंक, नेपाल एसबिआई बैंक र गरिमा विकास बैंकले पनि सदस्यका रूपमा ऋण लगानी गर्नेछन् ।
परियोजनाको कुल लागत अनुमान ५५ अर्ब १५ करोड रहेको छ । त्यसको ७० प्रतिशत लगानी ऋणमार्फत जुटाइएको हो । बाँकी ३० प्रतिशत भने कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ । त्यसमा स्थानीय र सर्वसाधारणलाई पनि सेयर दिने कम्पनीको योजना छ । नेपालमा निजी क्षेत्रबाट लगानी जुटाउन सफल भएको यो हालसम्मकै ठूलो परियोजना रहेको कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । ‘सुरुमा निजी क्षेत्रले ठूलो परियोजना बनाउन सक्छ कि सक्दैन ?
लगानी जुटाउन सक्छ कि सक्दैन ? समयमा परियोजना बन्छ कि बन्दैन ? विद्युत् बिक्री हुन्छ कि हुन्न ? भन्नेलगायत विषयमा द्विविधा थियो । तर, आज यतिको ठूलो परियोजनामा निजी क्षेत्र लगानी जुटाउन सफल भएको छ । योसँगै परियोजना बन्ने पनि पक्का भएको छ,’ उनले भने, ‘परियोजना निर्माणमा वित्तीय व्यवस्थापन महत्वपूणर् उपलब्धि हो । लगानी नभएसम्म जतिसुकै राम्रो आयोजना पनि बनाउन सकिन्न । त्यो अवस्थामा अहिले हामीले स्वदेशी बैंकबाटै लगानी जुटाउन सफल भएका छौँ । त्यति मात्रै होइन, स्वदेशी इन्जिनियरको डिजाइनमै परियोजना बनाउँदै छौँ । यो निजी क्षेत्रको ठूलो उपलब्धि हो ।’
यस्तै, कार्यक्रममा एभरेष्ट बैंकका सिइओ सुदेश खालिङले स्वदेशी बैंकहरू पनि ठूला जलविद्युत् परियोजनामा लगानी गर्न सक्षम भएको बताए । ‘नेपालमा हजारौँ मेगावाटबराबरको विद्युत् उत्पादन हुने देखिएको छ । त्यसका लागि लगानी गर्न हामी सकारात्मक छौँ । तर, आन्तरिक स्रोतबाट मात्रै लगानी जुटाउन सम्भव छैन । त्यसका लागि वैकल्पिक उपायहरू खोज्नुपर्छ,’ उनले भने, ‘यो क्षेत्र जोखिमरहित छैन । प्राकृतिक जोखिम त छ नै । त्यसबाहेक समयमा प्रसारणलाइन नबन्दा परियोजनाहरू तयार हुँदा पनि सञ्चालनमा आउन सकेका छैनन् । लागत पनि बढ्ने गरेको छ । अब यस्तो समस्या आउन दिनुहुन्न ।’
कार्यक्रममा सभामुख देवराज घिमिरेले पनि निजी क्षेत्रबाट यतिको ठूलो परियोजना बनाउन लाग्नु ठूलो उपलब्धि भएको बताए । यो परियोजना समयमा बनाउन आफ्नो ठाउँबाट सहयोग गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे । ‘म आफैँ पनि ताप्लेजुङबाट प्रतिनिधित्व गर्छु । पहिला यो जिल्ला निकै विकट थियो । तर, अहिले तमोर नदीको ताप्लेजुङ खण्डमा मात्रै १४ वटा जलविद्युत् परियोजना बन्दै छन् । यसले जिल्लाको विकासका साथै देशको अर्थतन्त्रमा पनि ठूलो सहयोग पुग्ने अपेक्षा छ,’ उनले भने, ‘यो परियोजना समयमा सम्पन्न हुनेमा पनि विश्वस्त छु ।’
यस्तै, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निजी क्षेत्रबाट यतिका ठूला परियोजना बन्न लाग्नु ठूलो उपलब्धि भएको बताए । ऊर्जा क्षेत्रमा भएका समस्या तथा चुनौती समाधान गर्न सरकार अघि बढिसकेको उनले बताए । दक्षिण एसियामै नेपाललाई स्वच्छ ऊर्जा भएको देशका रूपमा विकास गरिने उनले बताए ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि नेपालको समृद्धिका लागि ऊर्जा क्षेत्रलाई महत्वपूणर् क्षेत्रका रूपमा लिइएको बताए । यस्तै, आयोजना बन्ने जिल्ला ताप्लेजुङका सांसद योगेश भट्टराईले पनि ठूला परियोजना बनाउन नेपाली निजी क्षेत्रको क्षमता बढेको बताए । यो परियोजनाले ताप्लेजुङ जिल्लाको विकासमा सहयोग पुग्ने उनले बताए । ताप्लेजुङमा निर्माणाधीन आयोजनासहित पाँच वर्षमा एक हजार मेगावाट विद्युत् उतपादन हुने उनले बताए । त्यसले सिंगो मुलुकको अर्थतन्त्र विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।
यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले पनि नेपाली निजी क्षेत्रले ठूला परियोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको बताए । अब अन्य बैंकहरूलाई पनि ठूला आयोजनामा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकामा बन्ने यो परियोजना दुई सय ८५ मेगावाट क्षमताको अर्धजलाशय प्रकृतिको हो । परियोजनाले हिउँदमा पनि ६ घण्टा पूणर् क्षमतामा विद्युत् उत्पादन गर्न सक्छ । त्यसले हिउँदको पिक आवरमा भइरहेको लोडसेडिङलाई कटौती गर्न सहयोग पुग्ने अध्यक्ष ढुंगानाले बताए ।
कम्पनीले २७ जेठ ०७५ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको लाइसेन्स पाएको थियो । ८ असार ०७८ मा लगानी बोर्डबाट परियोजनाको लगानी स्वीकृत भएको थियो । कम्पनीले ०७९ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद-बिक्री सम्झौता गरिसकेको छ । सम्झौताअनुसार कम्पनीले बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा प्राधिकरणलाई विद्युत् बिक्री गर्नेछ । सुक्खायाममा पिकिङ आवरमा प्रतियुनिट १०.५५ रुपैयाँ विद्युत् बिक्री गरिनेछ । सुक्खायामको अन्य समयमा भने प्रतियुनिट ८.४० रुपैयाँमा विद्युत् बिक्री गरिनेछ । पिपिए दर आठ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्धि गरिनेछ ।
परियोजनामा ९१ मिटर लामो र २२ मिटर अग्लो बाँध हुनेछ । ड्यामबाट विद्युत्गृहसम्म पानी पुर्याउन आठ हजार तीन सय ७० मिटर लामो सुरुङ निर्माण र ६ सय १३ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । परियोजनामा निर्माण हुने भूमिगत विद्युत्गृह एक सय चार मिटर लामो र २० मिटर चौडाइको हुनेछ । पावरहाउसमा ५७ मेगावाट क्षमताका पाँचवटा टर्बाइन हुनेछन् । परियोजनाको विद्युत् दुई सय २० केभी १५ किमि लामो प्रसारणलाइनमार्फत ढुंगेसाँगु सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको वार्षिक आम्दानी साढे १२ अर्ब
आयोजनाबाट वार्षिक एक अर्ब ४७ करोड ९८ लाख युनिट विद्युत् उत्पादन हुनेछ । बर्खामा एक अर्ब तीन करोड ३६ लाख युनिट र सुक्खायाममा ४४ करोड ६२ लाख १६ हजार युनिट बिजुली उत्पादन हुनेछ । परियोजनाको प्रारिम्भक निर्माण यसअघि नै सुरु भइसकेको छ । यो परियोजनाको निर्माण ०८५ जेठमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजना सञ्चालनमा आएको पहिलो वर्षमा १० अर्ब १२ करोड रुपैयाँ आम्दानी हुनेछ । पिपिए दरमा हुने वृद्धिले गर्दा नौ वर्षपछि वार्षिक १२ अर्ब ५५ करोड आम्दानी हुनेछ ।