
भोमादेवी पोख्रेल
ताप्लेजुङ, १६ साउन । साउन महिना समेत आधा विति सक्दा पनि बर्षा रोकिएको छैन । ताप्लेजुङ जिल्ला अझै पनि पहिरोको उच्च जोखिममा रहेको छ । विगतका बर्षहरुलाई हेर्ने हो भने यस जिल्लामा जेठ, असार ,साउन, भदौं तथा असोज सम्म पहिरोले धनजनको क्षती भएको तथ्याङ्क रहेका छन् ।
यस सिजनको बर्षा नरोकिएकोले जिल्लाका गाउँहरु पहिरोको उच्च जोखिम छन् । जिल्लामा ९ स्थानीय तहहरु छन् । नौं स्थानीय तहमा ६१ वडा छन् । ती मध्ये २३ वटा वडाहरु पहिरोको उच्च जोखिममा छन् । जिल्लाका ३७ वडाहरु पहिरोको जोखिममा रहका छन् । फुङलिङ नगरपालिका भित्रका ११ वडा मध्ये २ वडामा भने पहिरोको जोखिम नरहेको र ९ वडा पहिरोको जोखिममा रहेको जिल्ला विपद्त व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।
जिल्ला विपद्त व्यावस्थापन समिति र नेपाल रेडक्रस सोसाईटीले बाढि तथा पहिरोले पु¥यएको क्षति विवरणलाई २० वर्षको अवधीलाई मध्यनजर गर्दै २३ वडाहरु पहिरोको उच्च जोखिममा रहेको बताएको हो । जिल्लाको सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम लगायत ४ वटा वडाहरु पहिरोको उच्च जोखिममा रहेको विपद् व्यावस्थापन समितिका संयोजक पाण्डेले बताउनुभयो ।
जिल्लाको उत्तरी फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोला ५ वटा वडाहरु पहिरोको उच्च जोखिममा रहेका छन् । उता, सिदिङ्वा गाउँ पालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आँङ्खोप ४ वटा वडाहरु पहिरोको उच्च जोखिममा रहेको बताईएको छ ।
पाथिभरा याङवरक गाउँपालिकाको नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे ३ वटा वडाहरु तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिन २ वडाहरु साथै मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ ४ वटा गाउँहरु पहिरोको उच्च जोखिममा रहेकाछन् ।
फुङलिङ नगरपालिकोका १, ६, ७, ८ र १० बडाहरु उच्च जोखिममा रहेको बताईएको छ । जिल्लाका ६१ वडा मध्ये फुङलिङका २ वटा वडाबाहेक ५९ पहिरोको जोखिममा रहेको प्रजिअ पाण्डेले बताउनुभयो । एसिया महादेश कै ठुलो भनिएको ताप्लेजुङ सदरमुकाम छेउमा रहेको हाङदेवाको हिरेवा, चिनेवा पहिरोले ठुलो रुपलिएमा सदरमुकाम खतरामा रहेको छ ।
जिल्लाका नरोकिने पहिरोहरुमा नाङखोल्याङ, लिङखिम–थिवा, फुरुम्बु, सिनाम, आँङ्खोप, निघुरादिन, फुलबारी, याम्फुदिन, तापेथोक, थुम्बेदिनलाई नियमित रुपमा बगिरहने ठूला पहिरोको रुपमा लिने गरेको नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति ईन्द्रबहादुर गुरुङले बताउनुभयो । जिल्लामा भएका पहिरोको अध्ययनको शिलशिलामा यस्तो देखिएको सभापति गुरुङले बताउनुभयो ।
साना पहिरोमा साविकका गाविसहरु सावादिन, लिवाङ, इखाबु, तापेथोक, लेलेप आदि गाबिसहरुमा पनि पहिरो नियमित बहिरहेको छन् ।
यी पहिरोले विगत देखी नै यस जिल्लाको जनधनको नियमित रुपमा क्षति गरीरहेको बताईएको छ । यी पहिरोका कारण मानिसमा त्रास बढि रहेको छ । उता, विकास निर्माणमा पनि ठुलो बाधा पुगेको बताईन्छ ।
जिल्लाको बिगलाई हेर्ने हो भने २०७२ सालमा जिल्लाका तत्कालिन गाविसहरु खोक्लिङ, लिबाङ, लिङलेप, सान्थाक्रा साथै विभिन्न भागमा गएको पहिरोका कारण ५९ जनाको मृत्यु भएको थियो । सो पहिरोबाट अरवौं रुपैयाँ बराबरको क्षतिहुनुका साथै सयौ घर परिवार विस्थापित भएका थिए । ती परिवार अहिले पनि गासँ, वास, साथै कपासका लागि उत्तिकै सर्घष गरिरहेका छन् ।
२०७३ सालमा दोखुमा पहिरो जादाँ ४ जनाको ज्यान गएको थियो । साथै सयौं घर परिवारहरुको उठिबास भएको थियो । उनिहरुले अहिले सम्म आफ्नो घर बनाउन नसकेको बताईएको छ ।
दुई बर्षमा भएको क्षति त उदाहण मात्र हुन् । २०५९ सालामा लिङखिम, हाङदेवामा गएको पहिरोमा परि ११ जनाले ज्यान गुमाएका थिए । सो सालमा विस्थामित भएर जिल्ला सदरमुकाममा आएका तेजबहादुर भट्टराईले उक्त पहिरोको स्मरण गर्दै भने “रातको समयमा थोरैले मात्र मेरो परिवार बचेको थियो ।”
जिल्लामा २० बर्षको अवधीमा १ सय ५० जना मानिसले ज्यान गुमाएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सँग तथ्याङ्क रहेको शाखाका सभापति ईन्द्रबहादुर गुरुङले बताउनुभयो ।