
पूर्वपोष्ट
ताप्लेजुङ, ४ जेठ । ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । पाथीभरा देवीको मन्दिमा केबलकार बन्न लागेको भन्दै सो केबलकार निर्माणकार्य बन्द गर्नुपर्ने मागसहित संघर्षमा उत्रिएको परियोजनाविरुद्धको संघर्षरत समूहले अनिश्चितकालीन यातायात बन्द गरेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
बुधबार र बिहीबार यातायात बन्द आह्वान गरेको सो समूहले बन्दलाई निरन्तरता दिँदै शुक्रबारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेपछि जनजीवन झनै प्रभावित भएको छ । संघर्षरत समूह मुक्कुमलुङ संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले बिहीबार साँझ पुनः विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको जनाएको छ । यातायात बन्दका कारण यात्रु मारमा परेका छन् ।
मेची राजमार्ग र तमोर करिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधन ठप्प हुँदा ताप्लेजुङबाट बाहिरिने र भित्रिने यात्रुले यात्रा गर्न पाएका छैनन् । यस्तै, ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि ठप्प हुँदा स्थानीय यात्रु मारमा परेका छन् । जिल्लाबाट लामो र छोटो दूरीका गरी तीन सय यातायातका सवारीसाधन अवतजावत गर्ने गर्दछन् ।
बन्दले बिहीबारदेखि सुरु भएको पाँचदिने ताप्लेजुङ पर्यटन महोत्सवलाई पनि असर पुगेको छ । पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुने भएपछि संघर्ष समितिहरू सुरुदेखि नै विरोधमा उत्रिएका छन् । संघर्षरत समूहले आफ्नो मागविपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरेको भन्दै यातायात बन्द आह्वान गर्दै थप आन्दोलित बनेको हो ।
पवित्र आस्थाको केन्द्र तथा ऐतिहासिक पवित्र धार्मिकस्थल पाथीभरामा केबलकार निर्माण गर्ने नाममा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराँससहितका लोपोन्मुख वनस्पतिहरू कटान गर्न थालिएको भन्दै आफूहरू सशक्त आन्दोलनमा उत्रनुपरेको संघर्षरत पक्षले उल्लेख गरेको छ ।
केबलकार परियोजना पक्षले सोमबार निर्माणस्थल पाथीभरा क्षेत्रमा रुख कटान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्र ढकाल नेतृत्वमा रहेको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो ।