केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ३ चैत्र । हिमाली जिल्ला ताप्लेजुङका वन क्षेत्रमा डढेलोका घटना बढीरहेका छन्। फागुनको तेस्रो सातादेखि चैत्र १ गतेसम्म जिल्लाका विभिन्न स्थानमा गरी १६ वटा डढेलोका घटना भएका छन्।
सुख्खा मौसमसँगै यहाँका राष्ट्रिय तथा सामुदायिक वनमा एकपछि अर्को गर्दै डढेलो लागेको हो। डिभिजन वन कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा सहायक वन अधिकृत परमेश्वर पाशवानले दुई साताको अवधिमा नौ सामुदायिक र सात राष्ट्रिय वनमा डढेलो लागेको जानकारी दिए।
पासवानका अनुसार यो याममा पहिलोपटक फागुन १४ गते मेरिङ्देन गाउँपालिका– २ सान्थाक्रास्थित मुरुमी चिहानडाँडा सामुदायिक वनमा डढेलो लागेको थियो। त्यसपछि फागुन १६ गते फुङ्लिङ नगरपालिका– ८ दोखुको राष्ट्रिय वनमा र फागुन २४ गते एकै दिन चारवटा वनमा डढेलो लागेको उनले बताए । उक्त दिन मेरिङ्देन वडा नं ४ लिङ्तेप र वडा नं ५ थुकिमामा रहेको राष्ट्रिय वनमा डढेलो लागेको थियो। यस्तै मिक्वाखोला गाउँपालिका– ३ लिबाङस्थित सिनाबुङ सरजा सामुदायिक वन र वडा ४ साँवाको आइखालम्ब्याक सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ। तथ्यांकअनुसार फागुन २५ मा मिक्वाखोला–१ खोक्लिङको कार्तिपाखा सामुदायिक वन र वडा नं ४ साँवाको मानाभरा सामुदायिक वनमा, २६ गते मिक्वाखोला–२ खोक्लिङस्थित तेस्रेकाली सामुदायिक वन र वडा नं ५ पापुङको हिमाली जडीबुटी सामुदायिक वनमा डढेलो लागेको छ।
२७ गते पाथीभरा याङ्वरक–१ नाङ्खोल्याङको त्रिबेणी सामुदायिक वन, २९ गते नाङ्खोल्याङकै खैरेनी सामुदायिक वन र फक्ताङ्लुङ गाउँपालिका– १ सावादिनस्थित राष्ट्रिय वनमा डढेलो लागेको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
यसैगरी, फागुन ३० गते सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा रहेको राष्ट्रिय वनमा तथा चैत १ मा सिदिङ्वा–६ मेहेलेको राष्ट्रिय वन र फुङ्लिङ नगरपालिका–८ दोखुको राष्ट्रिय वनमा डढेलो लागेको छ।
बिहीबारसम्म जिल्लाका विभिन्न ठाउँमा गरी करिव ४९३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद साहले जानकारी दिए। जिल्लाका दर्जनौं ठाउँमा डढेलो लगाइए पनि कार्यालयले कसले आगो लगायो भन्ने पत्ता लगाउन सकेकोे छैन। सामुदायिक वन तथा राष्ट्रिय वनमा आगो लगाउनेलाई तीन बर्ष जेल र १ लाख जरिवाना हुने कानुनी प्रावधान छ। तथापि, जिल्लामा वर्षेनी डढेलोबाट ठूलो वन क्षेत्र सखाप हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय