
इपुर्पपोष्ट
ताप्लेजुङ, २५ माघ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा हरि खड्का मृत फेला परेका छन् । पाँचथर याङ्वरक गाउँपालिका-२ थर्पु घर भई हाल सिरिजङ्घा गाउँपालिका-२ आम्बेगुदिन स्थित ससुराली घर बस्दै आएका ३३ वर्षीय खड्का बिहीबार बिहान स्थानीयले मृत फेला पारेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कलमकुमार लुङ्गेलीले खड्का स्थानीय महभीरमा मृत अवस्थामा भेटिनुभएको बताउनुभयो । निबुखोला नजिक महभीरको फेदीमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले फेला पारेको शव प्रहरी निरीक्षक लुङ्गेलीले खड्काको रहेको पुष्टि गरेकाछन् ।
बुधबार मध्यान्हतिर सोही गाउँपालिका-१ सिनाम, मावलीघर जान्छु भनी खड्का घरबाट निस्कनुभएको थियो । मावली घर नपुगेको र अबेरसम्म घर पनि नफर्किएपछि उहाँको खोजतलास हुँदै आएको प्रहरीले जनाएको छ । यता घटनाबारे खबर भएपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटनास्थल गएको छ । घटनाका सम्बन्धमा अनुसन्धान प्रक्रिया सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।