
इपूर्वपोष्ट
ताप्लेजुङ, १७ माघ । प्रतिनिधिसभाका सांसद वसन्तकुमार नेम्वाङ आकस्मिक बिरामी परेका छन्। एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ आएका नेम्वाङलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो।
जिल्ला अस्पतालले सिटी स्क्यानसहितको उपचार आवश्यक भएको बताएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको एमाले ताप्लेजुङका उपसचिव दीपेन्द्र पोमुले जानकारी दिए। पाँचथर जिल्लाबाट निर्वाचित सांसद नेम्वाङ एमाले ताप्लेजुङका इन्चार्जसमेत हुन्।
एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा पूर्वसांसद घनश्याम खतिवडाका अनुसार बिहान फिदिमबाट हिँडेका नेम्वाङसहितका नेता पाथीभरा गेस्टहाउसमा भेला भएका थिए। सोही वेला उठ्ने तरखर गर्दागर्दै नेम्वाङ ढलेका थिए। ढलेपछि उनलाई नजिकैको तमोर अस्पताल लगिएको थियो। तमोर अस्पतालमा प्रारम्भिक परीक्षणपछि जिल्ला अस्पताल लगिएको थियो।
जिल्ला अधिवेशनसहितका विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक बोलाइएको थियो। सोही बैठकका लागि नेम्वाङसहितका एमाले नेता ताप्लेजुङको फुङलिङ आइपुगेका थिए।