
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १२ असोज । ताप्लेजुङका किसानलाई प्रमुख नगदेबाली अलैँची टिप्ने चटारो छ । खेतबारी तथा कान्ला भित्ता र खोल्सीहरुमा अलैँची पाक्न थालेको छ ।
किसानहरु अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । गाउँमा अलैँची बगान भएका तर जिल्ला सदरमुकामतिर बसेका व्याक्तिहरु समेत अलैँची टिप्न गाउँ फर्किएका छन् । भदौ १० गतेदेखि अलैँची टिप्न शुरु गरिएकाे हाे । कात्तिक महिनाको अन्तिमसम्म नै अलैँची टिप्ने कामको चटारो हुन्छ ।
पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरे चरा तथा मुसाले खाने हुँदा किसानलाई अलैँची भित्र्याउन चटारो परेको हो । सबैतिर एकै पटक अलैँची टिप्ने र थन्क्याउने काम भइरहेकाले काम गर्ने जनशक्तिको अभाव हुन थालेको मैवाखोला गाउँपालिका-४ का लेखनाथ गौतमले बताउनुभयो ।
ताप्लेजुङमा झण्डै चार हजार ५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने दुई हजार ५०० मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क छ । यसवर्ष अलैँचीको मूल्य पनि राम्रो भएकाले किसान उत्साहित छन् ।
अहिले अलैँची प्रतिमन अर्थात् (४० किलो) को ५५ देखि ६० हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो । यसपालि भाउ बढे पनि अलैँचीको उत्पादन ५० प्रतिशतले घट्ने सम्भावना रहेको रेग्मीले बताउनुभयो ।
किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार २०० मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ ८/१० देखि नै टिप्ने गरिन्छ । यस्तै, एक हजार २०० देखि एक हजार ८०० सम्मको उचाइमा गरिएको खेतीमा असोज पहिलो हप्तादेखि अलैँची टिप्न शुरु गरिन्छ । एक हजार ८०० देखि माथि लेक क्षेत्रमा कात्तिकदेखि कात्तिकभरी नै अलैँची टिप्ने गरिएको छ ।
यसवर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् । कालो सुनकाे नामले चिनिने नगदेबाली अलैँची पूर्वी पहाडी जिल्लाहरुमा धेरै उत्पादन हुने गरेको छ । यसरी उत्पादन भएको अलैँचीको मूल्य विगत ६ वर्षयताकै उच्च भएको छ ।
भाउ बढे पनि यस वर्ष हिउँदमा पर्याप्त वर्षा नभएका कारण र राेग लागेकाले उत्पादन घट्न सक्ने किसानकाे अनुमान छ ।