
केशवप्रसाद भट्टराई
ताप्लेजुङ , ८ असोज । ताप्लेजुङकाे मैवाखाेला गाउँपालिकाले बाढी–पहिराे पीडितलाई बनाएकाे अस्थायी आवास हस्तान्तरण गरेकाे छ ।
अविरल वर्षापछि गएकाे असार २ आएकाे बाढी–पहिराेका कारण घर गुमाएका ६५ परिवारलाई गाउँपालिकाले आज साेमवार अस्थायी आवास हस्तान्तरण गरेकाे हाे ।
मैवाखाेला गाउँपालिकाकाे वडा नम्बर ३ र ४ का बाढी–पहिराे पीडितलाई अस्थायी आवासकाे व्यवस्था गरेकाे गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयाे ।
मैवाखोला–३ साँघुको निर्माणाधीन रङ्गशालामा बनाइएका घर पीडितलाई हस्तान्तरण गरिएको हो । ४ देखि ६ जना, ६ देखि ८ र ८ देखि १२ जनासम्म बस्न मिल्ने गरी ‘ए’, ‘बी’ र ‘सी’ गरी ३ प्रकारका घर बनाइएकाे छ । यस्तै ६५ परिवारका लागि ३६ वटा शौचालय र १८ वटा धारा बनाइएकाे छ ।
यी संरचनाकाे लागत १ करोड ५० लाख रहेकाेमा गाउँपालिकाले २६ लाख ६० हजार रुपैयाँ खर्च गरेकाे गाउँपालिकाका अध्यक्ष वनेमले जानकारी दिनुभयाे । यस्तै दातृ निकाय र सहयोगी सङ्घ–संस्थाबाट ५५ लाख ९२ हजार प्राप्त भएको तथा शिक्षक, विद्यार्थी, स्थानीयबाट ६८ लाख एक हजार रुपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएकाे छ ।
गएकाे साउन ७ अस्थायी आवासकाे निर्माण शुरु भएकाेमा २ महिनामै पूरा भएकाे हाे । गाउँपालिकाले अस्थायी संरचना बनाइदिएर अभिभावकको कर्तव्य पूरा गरेको अस्थायी घर प्राप्त गरेकामध्ये एक डिमा शेर्पाले बताउनुभयाे ।
पालिका अध्यक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले संयुक्त अस्थायी एकीकृत आवास कक्ष सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।
बाढी तथा पहिरोले मैवाखोला, सिदिङ्वा, सिरिजङ्गा र मेरिङदेन सहितका स्थानीय तह नराम्ररी प्रभावित भएका थिए। घरै बस्न नसक्ने गरी विस्थापित भएका परिवारका लागि मैवाखोलाले एकीकृत अस्थायी आवास स्थल निर्माण गरी पीडित परिवारलाई स्थानान्तरण गरेको छ।
पालिका अध्यक्ष वनेमले तत्काल अस्थायी आवास स्थलमार्फत सुरक्षित स्थानान्तरण गरिएको र पछि दीर्घकालीन स्थानान्तरण गर्ने योजना बनाइएको जानकारी दिए। आवास स्थलमा बिद्युत् र खानेपानीको समेत प्रबन्ध गरिएको छ।