
इपूर्वपोष्ट
ताप्लेजुङ, १८ भाद्र । ट्राईबेक्ररमा पथरी–११ स्पोटिङ क्लब मोरङलाई पराजित गर्दै जुट विकास फुटबल एकेडेमी सुनसरी ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’को फाइनलको यात्रा तय गरेको छ ।
ट्राईबेक्ररमा जुट विकास फुटबल एकेडेमीले पथरी–११ स्पोटिङ क्लवलाई ५–४ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय ट्राईबेकरबाट लिइएको थियो ।
दुवै टिम आक्रामक देखिएको सोमबारको खेलमा रेफ्री दिपेश लिम्बूले ६ वटा पहेलो कार्ड समेत प्रयोग गरेका थिए । पहिलो हाफमै ५ वटा पहेलो कार्ड प्रयोग भएको थियो । फाइनल यात्राका लागि दोस्रो सेमिफाइनल खेलमा मंगलबार रेडस्टार फुटबल क्लब बिर्तामोड झापा र रेडहर्ष फुटबल क्लब इलाम विचहुने संचालक समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । भने उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । यो रकम यसअघिकै प्रतियोगितामा घोषित रकम हो ।
२०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ । २०७७÷२०७८ सालमा कोरोना संक्रमणका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालन स्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको सञ्चालन समितिले जनाएको छ ।
क्वाटर फाइनलका ४ खेलमा जनही १ सय रुपैयाँ प्रवेश शुल्क तोकेको लाखे जात्रा सञ्चालन समितिले सेमिफाइनलका दुई खेलका लागि भने जनही २ सय रुपैयाँ निर्धारण गरेको छ । फाइनल खेलका लागि दर्शकलाई जनही २ सय ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।