
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १३ साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराेबाट विस्थापित भएकाहरुका लागि एकीकृत बस्ती निर्माण गरिरहेकाे छ । गाउँपालिकाले पहिराे पीडित ६४ घरपरिवारकाे व्यवस्थापनका लागि एक कराेड रुपैयाँ लगानीमा एकीकृत बस्ती निर्माण गर्न लागेकाे हाे । अहिलेसम्म १५ वटा घर निर्माण भइसकेकाे गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे ‘पीडित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि यस्ताे याेजना ल्याएका हाैँ । अहिले सम्ममा १५ वटा घर बनिसकेका छन् । अन्य बनाउने क्रम जारी छ ।’ अध्यक्ष वनेमले एकीकृत बस्ती निर्माणका लागि स्थानीयहरुले स्वेच्छिक श्रमदान गरिरहेका जानकारी दिनुभयाे ।
उहाँले जोखिममा रहेका ओदक क्षेत्रका घर परिवारलाई मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेकाे मदन भण्डारी रङ्गशालामा अस्थायी एकीकृत बस्ती बनाइ स्थानान्तरण गर्ने याेजना रहेकाे बताउनु भयाे ।
एक हप्तादेखि बस्ती निर्माणकाे काम शुरु गरेकाे गाउँपालिकाले स्वेच्छिक श्रमदानकाे आह्वान गरेकाे थियाे । ओदक पहिराेकाे जाेखिममा रहेकाले जतिसक्दाे चाँडाे बस्ती निर्माणकाे काम सक्नुपर्ने उहाँले बताउनु भयाे ।
गएकाे असार २ गते राति आएकाे पहिराेका कारण ओदकका घर जाेखिममा परेका हुन् । पालिकाले बस्ती निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वेच्छिक रुपमा उपलब्ध गराउन आग्रह समेत गरेको छ ।
अध्यक्षले एक घरको लागि काठलगायत विभिन्न सामग्री खरिद गर्दा करिब १ लाख ५० हजार रुपैयाँ खर्चिनु पर्ने बताउनुभयो ।