
आनन्द गौतम
ताप्लेजुङ, १३ बैशाख । टिप्ताला भञ्ज्याङको सीमावर्ती क्षेत्र नेपालको ताप्लेजुङ र चीनको डिङजे काउन्टीका जनप्रतिनिधि तथा प्रशासन प्रमुखसहितले सोमबार २ घन्टा भर्चुअल बैठक गरेका थिए ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले दुवै क्षेत्रबाट आ–आफ्नो देशको माथिल्लो निकायमा नाका खोल्ने विषयमा पहल गर्ने विषयमा छलफल भएको बताइन् ।
‘नाका बन्दले सीमावर्ती क्षेत्रको जनजीवनमा परेको समस्याका विषयमा हामीले आफ्नो तर्फबाट कुरा राख्यौं,’ चेम्जोङले भनिन्, ‘उहाँहरुले हामी पनि माथिल्लो निकायमा पहल गर्छौं, तपाईँहरु पनि गर्नुहोस् र कूटनीतिक ढंगले प्रक्रिया बढाऔं भन्ने छलफल भएको छ ।’ नाकासँगै सीमावर्ती क्षेत्रको विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा पनि चीनतर्फबाट जिज्ञासा राखेको चेम्जोङले बताइन् ।
बैठकमा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्वू, उपाध्यक्ष विकास साम्रा, कार्यपालिका सदस्य मिङमा डण्डु शेर्पा, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागिता थियो । चीनको डिङजे काउन्टीका प्रमुख ताओ मिंगजुन, जनसरकार प्रमुख सेचुङ, सिगात्से सिटीको अर्थ विभागका अनुसन्धान प्रमुख वाङ सियाओमाङ, डिङजे काउन्टीका उपप्रमुख डिङ लिमिन लगायतको उपस्थिति थियो । बैठकको लागि फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।
बैठकमा द्विदेशीय सिमाना टिप्ताला भञ्ज्याङदेखि ओलाङचुङगोलासम्मको सडक निर्माणका लागि सहयोग गर्ने, यही मार्गमा दुईवटा मोटरेबल पुल बनाउने लगायत विषयमा पनि छलफ भएको छेतेनले बताए । ‘कोरोना संक्रमणअघि डिङजे काउन्टीले नेपाली एक अर्ब रुपैयाँ बाटो निर्माणका लागि छुट्याएको थियो,’ छेतेनले भने, ‘कोरोनाको संक्रमण कम भएको छ त्यो बजेट कार्यान्वयन गर्नुहोस् भनेर हामीले प्रस्ताव गरेका हौं ।’
सहयोगको विषयमा चीनका प्रतिनिधि सकारात्मक देखिएको बैठकमा सहभागी जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताए । लामाका अनुसार उनीहरुले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
छेतेनका अनुसार कोरोना संक्रमणको समयमा डिङजे काउन्टीले सीमावर्ती क्षेत्रका बासिन्दालाई खाद्यान्न लगायतको सहयोग गरेको थियो । ‘अहिले पनि उनीहरुले सहयोगका विषयमा कुरा गरेका छन्,’ छेतेनले भने, ‘हामीलाई सहयोग होइन अब नाका खोलीदेउ । ब्यापार व्यवसाय बढेपछि हामीलाई सहयोग आवश्यक पर्दैन भनेका हौं ।’
महामारीको अवधिमा चीनले मास्क, सेनिटाइजर लगायत सुरक्षा सामग्रीसहित चामल, पिठो, उवा लगायतका खाद्य सामग्री सहयोग गरेको थियो । उक्त सहयोग ओलाङचुङगोला, याङमा, घुन्सा र फलेका बासिन्दाका लागि लक्षित रहेको बताइएको छ ।
फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष साम्राका अनुसार चीनले यसअघि गाउँपालिकालाई एउटा स्काभेटर मेसिन दिएको छ । सीमावर्ती क्षेत्रको विकासका लागि भनेर उपलब्ध गराइएको मेसिन अहिले बाटो बनाउने लगायतको काममा प्रयोग भइरहेको उनले बताए । गाउँपालिका प्रमुख लगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पनि नाका खोल्न पहल गरिदिन लिखित रुपमा अनुरोध गरेको थियो ।
‘भर्चुअल बैठकमा पनि नाकाको विषयमा सकारात्मक देखिएका छन्,’ समन्वय प्रमुख लामाले भने, ‘तर नाका त हाम्रो कारण होइन उहाँहरुकै कारण बन्द रहेको हुँदा उताबाट बढी पहल हुनुपर्यो भनेका छौं ।’