केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २५ चैत्र । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले संसदीय शक्तिको उच्च प्रतिस्पर्धामा रहेका मुख्य दल एमाले र कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपाल ताप्लेजुङले शनिबार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले संसदीय प्रतिस्पर्धामा सफल राजनीतिक दलहरूले सरकारको नेतृत्व गरे अन्तर्राष्ट्रिय क्षेत्रको समेत विश्वास जित्न सकिने जिकिर गरे। ‘पूर्णतया सफल त कोही पनि छैन। तर, संसदीय प्रतिस्पर्धामा कि कांग्रेस सफल हो, कि एमाले,’ उनले भने। अर्थतन्त्रको अहिलेको अवस्थाको सुधारका लागि पनि संसदीय व्यवस्थाका सफल दलहरूको नेतृत्वमा सरकार बन्नुपर्ने उनको जिकर छ।
उनले माओवादी केन्द्रलाई संसदीय व्यवस्थाभित्र असफल शक्तिको रूपमा उल्लेख गरेका छन्। माओवादी केन्द्रलाई संसदीय व्यवस्थामा कसैको सहाराबेगर आफ्नो राजनीतिक अस्तित्व जोगाउन नसक्ने शक्तिको संज्ञा दिँदै भट्टराईले माओवादीकै कारण देश अधोगतितर्फ उन्मुख हुन थालेको आरोप लगाए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर, अलोकतान्त्रिक र संसदीय मूल्य–मान्यताविरुद्ध लागेको आरोप लगाउँदै उनले भने, ‘दुई महिनामै पार्टनर फेर्ने प्रधानमन्त्रीजीलाई अब कर्मचारी, प्रहरी, सेना र अन्य अन्तर्राष्ट्रिय शक्तिले टेर्न र पत्याउन छाडेका छन्।’
मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अवधारणाका आधारमा गम्भीर मानवअधिकार उल्लंघनका घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने र पीडितले न्याय पाउनुपर्ने विषयमा एमाले दृढ रहेको भट्टराईले बताए। संसदमा पेस भएको सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकबारे उनले उक्त धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय