
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २२ चैत । ताप्लेजुङमा जारी दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको दोश्रो दिन बुधबार डोको बुन्ने प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा फुङलिङ नगरपालिका वडा नं ९ का धन बहादुर गुरुङ प्रथम भएका छन् । दोस्रो फुङलिङ कै लक्ष्मण गुरुङ हुनु भएको छ । तेश्रो भने सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका कालीबहादुर गुरुङ हुनुभएको मेला तथा महोत्सवका सञ्चार संयोजक दिनेश लिङखिमले जानकारी दिनुभयो । उहाँले डोको बन्ने प्रतियोगीतामा १४ बर्षे बालक समेतले सहभागिता जनाएका थिए ।
डोकोको आकार दिएर चोयाको गुणस्तर, बनोटको प्रकृति, साटसज्जा, डोकोको गुणस्तरीयता र समयावधिलाई आधार मानेर अंक दिईएको महोत्सव आयोक नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो ।
लघु उद्यम सृजनालाई प्रोत्साहन गर्न डोको र टपरी बुन्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले जानकारी दिनुभयो ।
डोको बुन्ने प्रतियोगिताका बिजेताले १० हजार, उपबिजेताले ५ हजार र फस्ट रनरअपले २ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । सहभागी सबैले नगद ५ सयका दरले प्रोत्साहन रकम पाउने अध्यक्ष भारतीले बताउनुभयो ।