काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्रका निम्ति मिलेर काम गर्ने भन्दाभन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको आरोप लगाएका छन्। राष्ट्रिय नाचघरमा आइतबार आयोजित सहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा ओलीले दाहाल धोकेबाज भएको आरोप लगाएका हुन्।
दाहाललाई बिरालोसँग तुलना गर्दै कचौरामा दुध राखेपछि छिमेकी घरमा पल्किएको बताए। राष्ट्रपतिमा कांग्रेसलाई सहयोग र समर्थन गरेका दाहाललाई व्यंग्य गर्दै बिरालो किन्नुनपर्ने बरु दुधभात राखिदिए बिरालो आफैं आइपुग्ने ओलीको भनाइ थियो। कसैले कचौरामा दुध दिए उतै जाने ‘प्रचण्ड प्रवृत्ति’ रहेको उल्लेख गर्दै उनले भने, ‘जता धेरै दूधभात मिल्छ, त्यतै प्रचण्ड जान्छन्। जो जता मिलेर भए पनि सत्तामा कसले कचौरामा कति दुधभात दिन्छ, खुत्रुक्क छिमेकीका घरमा सर्ने सिलसिला जारी नै छ।’
२०६२÷६३ सालको आन्दोलनपछि सबैभन्दा बढी सत्तापक्ष नै दाहाल भएकाले उनी ‘परिवारको स्वार्थमा लिप्त भएको’,‘चक्कु लिएर बसेको’लगायत विविध आरोपसमेत ओलीले लगाए। ‘परिवारका मान्छे धनी नै होलान्, भान्जाभान्जी, छोरीज्वाइँ, भाइभतिजा राम्रै ठाउँमा पुगेका होलान् तर अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनुभएको छ कि छैन ? आफ्नै स्वार्थ, आफ्नै परिवार मात्र सम्झनुहुन्छ कि जनयुद्ध पनि सम्झनुहुन्छ?’ ओलीले दाहाललाई प्रश्न गरे।
एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रले सुरु गरेको जनयुद्धलाई हिंसाको संज्ञा दिँदै ‘जनयुद्ध’को अहिले सम्झनासमेत नभएको दाबी गरे। ‘जनयुद्धका नाममा प्रचण्ड (पुष्पकमल दाहाल) ले हिंसाको अभियान सुरु गर्नुभयो। जनताका तर्फबाट र राज्यका तर्फबाट थुप्रैको हत्या भयो। गिरफ्तार गर्ने र हत्या गर्ने काम भयो। लमजुङका एक शिक्षकको कुरा होस् अथवा खोटाङका शिक्षकको कुरा होस्, अत्यन्तै निर्मम ढंगले हत्या गर्ने काम भए,’ ओलीले भने। नागरिक दैनिकबाट