
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डले दिएकाे २ सय १३ रनकाे लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायाे ।
नेपालका लागि कप्तान राेहित पाैडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । नेपालकाे १ सय ३८ रन हुँदा ८ खेलाडी आउट भएकाे अवस्थामा राेहित र करणले नवाैँ विकेटका लागि ७५ रनकाे साझेदारी गरे । यो साझेदारी नेपालले एकदिवसीय क्रिकेटमा गरेकाे अहिलेसम्मको उच्च साझेदारी हो । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेकाे स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयाे । नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए ।
नेपालले घरेलु मैदानमा भएकाे शृङ्खलामा खेलेका ४ वटै खेल जितेकाे छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो । लिग–२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो । याेसँगै नेपालले शृङ्खलामा क्लिन स्वीप गरेकाे छ ।
याे जितसँगै नेपाल २८ खेलमा २६ अङ्कसहित छैटाैँ स्थानमा छ । ३६ खेलमा ५० अङ्क रहेकाे स्कटल्यान्ड लिग–२ काे च्याम्पियन बनिसकेकाे छ । स्कटल्यान्डले आजै लिग–२ च्याम्पियनकाे ट्रफी पाउनेछ ।
लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमन दुवै टोली विश्व कपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्व कपका लागि छनोट हुनेछन् । लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अङ्क छ । अब नामिबियाका २ खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अङ्क छ ।
नेपालले ९ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा ५ अङ्कमात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अङ्क हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अङ्क हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग ४–४ खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय शृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ ।