
रौतहट – रौतहट सदरमुकाम गौरमा गएराति भएको आगलागीमा परेर एकै घरका ३ बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका १ माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा गए राति ११ बजे आगलागी हुँदा तीन बालबालिकाको घटनास्थलमै जलेर ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा खातुन लडेर घाइते भएका प्रहरीले जनाएको छ । घाइते तीन जनाकै उपचार गौर अस्पतालमा भइरहेको छ । एक जनाको अवस्था गम्भीर भएकाले काठमाण्डौ ल्याउने तयारी छ । ज्यान गुमाएका तीन जनाको शव गौर अस्पतालमा राखिएको छ । आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए । सुतेकै अवस्थामा आगलागी भएको हुँदा मानवीय समेत क्षति हुन पुगेको प्रहरीको भनाई छ ।
आगालागीले कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा पनि क्षति पुर्याएको छ । ग्यारेजमा बनाउनलाई राखिएका दर्जनौँ मोटरसाइकल जलेका छन् । मोटरसाइकल बनाउने ग्यारेजमा रहेका मोटरसाइकलको पेट्रोल तथा ग्यालेनमा रहेको पेट्रोलमा आगो सल्केपछि आगो झनै बढेको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा राति नै आगो निभाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो । गौर नगरपालिकाका नगर मेयर शम्भु साहले घटना निकै दुःखद भएको भन्दै पीडितलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
यस्तै, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पनि पीडित परिवारलाई भेट्नु भएको छ ।