
काठमाडौँ — यतिबेला अभिनेत्री रेखा थापाको संघर्ष कुनै राजनीतिक चलचित्र भन्दा कम छैन । रिलमा होइन, रियल चुनावी मैदानमा पहिलो पटक उत्रिएकी थापा राजनीतिमा नायक बन्ने सपना बोकेर चुनावी अभियानमा व्यस्त छन् ।
त्यसका लागि उनी मोरङ- ३ मा राप्रपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएकी छन् । उनी विगतमा चुनाव जित्दै आएका कांग्रेस र एमालेका उम्मेदवार विस्थापित गर्न त्यति सहज नभए पनि युवा, महिला र भूमिहीन मतदाताका मुद्दा बोकेर चुनावी लँडाइमा छन् । दर्जनौं चलचित्रमा अभिनय गरेकी थापाले रियल राजनीति रोचक लागिरहेको सुनाइन् । २०६५ पछि केही समय माओवादी पार्टीमा प्रवेश गरेकी उनी यो पटक भने राप्रपाबाट उम्मेदवार भएकी छन् ।
कांग्रेसका सुनिल शर्मा र एमालेका भानुभक्त ढकालसँग प्रतिस्पर्धा गरिरहेकी थापाले युवा नेतृत्वको मुद्दालाई प्रखर रुपमा उठाइरहेकी छन् । तीन दशकदेखि पुराना पार्टी र तिनका उम्मेदवारका कारण शिक्षा, स्वास्थ्य, सकुम्बासीलगायत समस्या समाधान नभएको भन्दै उनी चुनावी मैदानमा छन् । तपाईंलाई मतदाताले भोट किन दिने ? लगायतका सवालमा कान्तिपुरका गंगा बीसीले उनीसँग गरेको कुराकानी:
चुनाव प्रचारप्रसार कस्तो भइरहेको छ ?
एकदमै राम्रो भइरहेको छ । म आफ्ना मुद्दा लिएर मतदाता समक्ष गइरहेको छ् । राम्रो रेस्पान्स पाएकी छु ।
के के मुद्दा लिएर मुद्दा लिएर मतदाताकहाँ पुग्नु भएको छ ?
म यही क्षेत्रको व्यक्ति हो । मलाई यहाँका जनताले भोग्नु परेका समस्याबारे राम्ररी थाहा छ । यो क्षेत्रमा ३० वर्षदेखि बिभिन्न समस्या समाधान भएको छैन । अहिले पनि समस्या उस्तै छन्, चाहे त्यो सुकुम्बासी, शिक्षा, स्वास्थ्य, गरिबीको समस्या यथावत छ । यी समस्या समाधानका लागि संघर्ष गर्ने मेरो उद्देश्य हो । यसका लागि म चुनावी मैदानमा उत्रिएकी छु ।
तपाईँलाई नै मतदाताले भोट किन दिने भन्ने प्रश्न पनि उठेको होला नि ?
म यही निर्वाचन क्षेत्रको मान्छे हो । तीन दशकदेखि चुनाव लडेका, जितेका व्यक्तिले विगतमा समस्या कहाँ समाधान गरे ? यहाँबाट जितेर जानेहरुरुले के गरे भन्ने प्रश्न उठिरहेको छ । मोरङ- ३ मात्र होइन, देशभरबाट युवाले मौका पाउनुपर्छ भन्ने माग छ । मेरो चुनावी अभियानलाई युवा, महिला सर्बैले साथ दिइरहनु भएको छ । विगतमा उम्मेदवार भएर जितेका व्यक्तिको समीक्षा भइरहेकोछ । अबको भविष्य युवाको हातमा भन्ने कुरा मतदाताले बुझ्नु हुनेछ । पटकपटक परीक्षण भइसकेका व्यक्तिबाट काम हुन सक्दैन भन्ने मतदाताले राम्ररी बुझेका छन् ।
युवा मतदाताको अपेक्षा के पाउनु भएको छ ?
युवाहरुले यो पार्टी, त्यो पार्टी भनेर निर्वाचनमा जिताएको पाइन्छ । पार्टीलाई जिताएको भोलिपल्ट विदेशिनुपर्ने बाध्यता छ । म युवा हुनुको नाताले विशेष गरी लागि आवाज उठाउँदै आएको छुु । म उनीहरुको सरोकारका विषयमा संघर्ष गर्छु, बोल्छु । युवा पुस्तालाई स्वदेशमा रोजगारी, अधिकारका लागि लड्ने व्यक्ति हो । मैले यसअघि पनि खाडी मुलुकबाट स्वदेश आउँदा आवश्यक सामान ल्याउन रोक लगाउँदा आवाज उठाउने व्यक्ति म हो । युवाहरुको विदेशमा श्रम बेच्न पाइदैन । राजनीतिक दलहरुले युवाहरुलाई सडकमा ढुंगा हान्न पठाउँछन् । युवालाई पार्टीको झण्डा बोकायो, अनि आफूले जितिसकेपछि उनीहरुलाई बेच्न पल्केका छन् । राजनीति व्यापार भयो । युवाको भविष्य सुनिश्चित हुने राजनीति गर्नुपर्छ । सबै नागरिक स्वदेशमै बसेर गरेर खाने वातावरण बनाउनु पर्ने होइन र ? विगतदेखिनै आफू वरिपरिका व्यक्तिलाई हेर्ने, नातावाद, कृपावाद भइरहेको छ । आजसम्म हामीलाई प्रयोग गरेर जुन राजनीति भइरहेको छ, यो बन्द हुनुपर्यो । मेरो पुस्ताले यो गलत राजनीतिकको विरोध र विद्रोह गर्नुपर्यो । मेरो पुस्तालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लाम लागेर काम गर्न बाहिर गएको देख्न चाहन्न । यही देशमा बसेर काम गर्ने वातावरण बनाउनु मेरो लक्ष्य हो ।
तपाईँको लडाई यसअघि प्रतिस्पर्धा गरेका कांग्रेस, एमालेका उम्मेदवारसँग हो ?
होइन, होइन । उहाँहरुसँग मेरो प्रतिस्पर्धा होइन । उहाँहरुले राम्रो काम गरेको भए प्रतिस्पर्धा हुन्थ्यो । कामै नगर्ने उम्मेदवारसँग मेरो कसरी प्रतिस्पर्धा हुन्छ ?
मतदाताले तपाईँलाई के प्रश्न गरिरहेका छन् ?
हेर्नुस्, शिक्षा स्वास्थ्य, रोजगार हाम्रा राष्ट्रिय मुद्दा हुन् । नि:शुल्क शिक्षा प्राप्त गर्ने मौलिक हक अधिकार हो । यो किन कार्यान्वयन भएन ? सत्तामा पुग्ने राजनीतिक दलले यसमा के गरे ? शिक्षालाई व्यापार गर्ने माध्याम बनाइयो ? हामीले तीस दशकदेखि उम्मेदवारलाई जिताऔ । तर हाम्रो आफ्नै क्षेत्रमा हराम्रो स्वास्थ्य उपचार पाइनौ । मेरी आमा, छिमेकी, मजदुर, गरिबले राम्रो शिक्षा, स्वास्थ्य पाउने व्यवस्था किन भएन ? म यी समस्या समाधान लागि उम्मेदवार भएको हुँ। अहिले पनि यो क्षेत्रका बासिन्दा बिरामी हुँदा विराटनगर, धरान जानुपर्ने बाध्यता छ । राम्रो स्वास्थ्य किन भएन भने प्राइवेट अस्पतालले सरकारी अस्पताल सुधार हुन दिँदैनन् । नि:शुल्क राम्रो स्वास्थ्य भयो भने प्राइवेट अस्पताल सुक्ने भए । नि:शुल्क शिक्षा भयो भने निजी स्कुल सुक्ने भए । यहाँ त शिक्षा र स्वास्थ्यमा राजनीति भइरहेको छ । व्यापारका लागि राजनीति भइरहेको छ । तर, अहिले यसकै लागि मत बटुल्ने काम भइरहेको छ ।
यो क्षेत्रमा सुकुम्बासी समस्या धेरै छ । पुस्तौदेखि उनीहरुको हातमा लालपुर्जा छैन ।२०४६ सालदेखि सुकुम्बासीलाई भोट बैंकको रुपमा प्रयोग गरियो । चुनाव आउने बेला लालपुर्जा दिन्छौ भन्दै सोझा सुकम्बासीलाई आश्वासन बाँडियो । योपटक सुकुम्बासीलाई लालपुर्जा दिन म जस्तोसुकै लँडाइ लड्न पनि तयार छु । आगामी पाँच वर्षमा यो समस्या समाधान गर्ने मेरो लक्ष्य छ । यो अन्तरबार्ता कान्तिपुर अनलाइनबाट साभार गरिएको हो ।