
ताप्लेजुङ, । सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी कैलाश राईले जानकारी दिए । बिहान ११ बजेतिर भानुजन माध्यमिक विद्यालय छेउमा निर्माणाधीन बसपार्कबाट ओरालो लागेका उनलाई प्रहरीले त्यही क्षेत्रबाट पक्राउ गरेको हो । फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन । अरुको खोजी भइरहेको राईले बताए । घटना भएको करिब ४ घण्टा पछि नै संलग्न मध्ये एकजनालाई पक्राउ गर्न प्रहरी सफल भएका हुन् । खोजी कार्यमा डीएसपी राई सहित ससस्त्र प्रहरी ताप्लेजुङका डिएसपी विनोद थापा नेतृत्वको टोली खटिएको थियो ।
लुटपाटमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाले पैसा र गरगहना बोकेर भागेकाले उनीहरुको खोजी जारी राखेको डिएसपी राईले बताए । तीन जनामध्ये एक जनासँग हतियार रहेको सिसी टिभी फुटेजमा पाइएको छ । नगद र गहना चार जनाले नै बाँडेर बोेकेको पाइएको छ । सुन र नगद कति लुटपाट गरे भन्ने यकिन हुन बाँकी छ । आइएमई संञ्चालक अम्बर कुमार श्रेष्ठ र मैया श्रेष्ठले कर्मचारीलाई जिम्मा लगाएर विदेश भ्रमणमा छन् । दशैमा छुट्टि भएपनि कर्मचारीले आइएमई भित्र काम गरिरहेको र चार जना प्रवेश गरेर उनलाई नियन्त्रणमा लिएर लुटपाट गरेको सिसीटिभी फुटेजमा देखिएको छ ।
आइएमईका कर्मचारीलाई अपरिचित व्यक्तिले फोन गरेर जाकट राखेको गहना लिन आउँछु भनेर भनेको कर्मचारीले प्रहरीलाई बताएकी छिन् । चारमध्येका एक जनाले बाहिर रुंगेको, दुई जनाले कर्मचारीलाई नियन्त्रणमा लिएको र एक जनाले सीसीटीभी बन्द गराएकोसम्म फुटेजमा देखिएको छ ।